arrow

अपरान्ह बजेट, कस्तो आउँदैछ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
budget-2080-81.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ का लागि नयाँ बजेट प्रस्तुत गर्दैछन् । अपरान्ह ४ः१५ बजे संघीय संसदको संयुक्त बैठक बस्ने र अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको छ । अब आज नयाँ बजेट आउनेछ । जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । 

स्रोतहरुका अनुसार बजेटमा अर्थमन्त्री महतले साधारण खर्च कटौतीमा जोड दिनेछन् । पूँजीगत खर्च बढाउने, अनावश्यक खर्च कटौती, सार्वजनिक संस्थाहरुको सुधार, मर्जर तथा खारेजीका योजनाहरु समावेश गर्न लागिएको छ । यस्तै, शिथिल अर्थतन्त्रलाई गति दिन केही योजनाहरु पनि अघि सारिएका छन् । 

करिब १७ खर्बको हाराहारीमा रहेर बजेट तय गरिएको जानकारी दिइएको छ । केही पपुलर नारासहितका कार्यक्रमले यसपटक पनि निरन्तरता पाएका छन् । मन्दीमा जान लागेको अर्थतन्त्र सुधारका लागि केही लचिला नीतिहरु पनि सार्वजनिक गरिने छ ।
 
यता, शेयर बजार र घरजग्गा क्षेत्रका लगानीकर्ताले पनि बजेटबाट राहत अपेक्षा गरिरहेका छन् । शेयर बजारमा पुँजीगत लाभकरको दर घटाउनुपर्ने लगानीकर्ताले माग गरेका छन् । 

उनीहरुले यसमा लिखित सुझावसमेत दिइसकेका छन् । करको विषय भएकाले यो अहिलेसम्म गोप्य नै रहेको छ । तथापि, लगानीकर्ताहरुले भने आफ्ना अपेक्षा पूरा हुने विश्वास लिएको देखिन्छ । 

के भन्छन् अर्थमन्त्री ?
बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् । 

बजेट सार्वजनिक गर्दै गर्दा अघिल्लो दिन संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अर्थमन्त्री डा. महतले पछि परेको वर्गलाई केन्द्रमा राखेर बजेट आउने बताएका हुन् । 

उनले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताए । उनले बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने बताए । 

कार्यान्वयनलाई नै महत्त्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने उनको दृढता छ । उनले बजेट जतिसुकै राम्रा भए पनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताए । 

अर्थमन्त्री महतले भने, ‘‘समग्र जनतालाई केन्द्रित गरेर, देशलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिंग सबैलाई मध्यनजर राखेर बजेट आउँछ। हामीले कार्यान्वयनमै जोड दिएका छौं। कार्यान्वयन अत्यन्तै महत्वपूर्ण विषय हो। जतिसुकै राम्रा कुराहरु भए पनि कार्यान्वयनका विषयमा हामी गम्भीर भएनौं भने समस्या आउँछ। परिणाम आउँदैन। त्यो कुरालाई मध्यनजर राखेर नै के–कस्ता सुधारका आवश्यक्ता छ ? त्यसलाई हामी महत्त्व दिन्छौं।’’

अर्थमन्त्री महतले बजेटलाई परिणाममुखी बनाउन पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्मरण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ