arrow

बजेटको नयाँ कार्यक्रम: आर्थिक समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका लागि 'सौम्य शक्ति' परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
swarnim-budget-83-2-15yyy.jpg

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत एक नवीन कार्यक्रमका रूपमा ‘सौम्य शक्तिको परिचालन’ लाई अगाडि सारेको छ। नेपालको अद्वितीय कला-संस्कृति, प्राकृतिक सम्पदा तथा शान्तिवादी छविलाई विश्व समुदायमाझ चिनाउँदै त्यसलाई मुलुकको आर्थिक समृद्धिको मार्गमा रूपान्तरण गर्ने लक्ष्यका साथ यो कार्यक्रम ल्याइएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित भएर सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गरिने उल्लेख छ। यसैका लागि सौम्य शक्तिको परिचालन गरिने रणनीति सरकारले लिएको हो।

के हो नेपालको 'सौम्य शक्ति'?
नेपालको सन्दर्भमा हिमालय पर्वत, सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्मस्थल, सांस्कृतिक विविधता, योग, ध्यान, कला, पर्यटन, पदयात्रा, नेपाली आतिथ्य र शान्तिप्रिय छविलाई नै वास्तविक सौम्य शक्ति मानिएको छ। यिनै आकर्षण, संस्कृति, विचार र विश्वासमार्फत विश्व समुदायमा गहिरो छाप छोड्ने र त्यसलाई समृद्धिको आधार बनाउने उद्देश्यले सरकारले पहिलोपटक बजेटमा यो विषय समेटेको जनाएको छ।

बजेटले आर्थिक कूटनीति, संस्कृति, पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग गरी नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्ने लक्ष्य राखेको छ। यसका साथै संयुक्त राष्ट्र सङ्घलगायतका बहुपक्षीय एवं क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई सशक्त बनाउने र क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीति अघि बढाउने बजेटमा उल्लेख छ।

बजेटको बुँदा नम्बर ५८ लाई साभार गर्दै अर्थमन्त्री डा. वाग्लेले भनेका छन्, “नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालयन शृङ्खला, योगध्यान, सांस्कृतिक, विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तरराष्ट्रिय शान्ति मिशनमा सहभागितालगायतका विषयहरुको उन्नत प्रसार गर्नेछौँ।”

बजेटले संविधानले सुनिश्चित गरेको ‘गैरआवासीय नेपाली नागरिकता’ सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई मूर्तरूप दिने लक्ष्य राखेको छ। गैरआवासीय नेपालीहरूलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गर्दै उनीहरूलाई राष्ट्र निर्माणको मूल अभियानमा सक्रिय रूपमा समावेश गर्ने उद्देश्य बजेटमा समेटिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ