arrow

दार्चुलामा फैलियो ‘लम्पी स्कीन’ : ८ हजार बढी पशुचौपाया संक्रमित

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०८० जेठ ५ शुक्रबार
cou-lampki.JPG

दार्चुला ।  दार्चुलाका नौ वटै स्थानीय तहमा ‘लम्पी स्कीन’ रोगको प्रकोप फैलिएको छ । जिल्लाका महाकाली र शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा पशुचौपायामा लाग्ने लम्पी स्कीन रोग महामारीका रूपमा फैलिएको हो । दार्चुलामा खास गरी गाई गोरुमा यो रोग देखिएको छ । 

अहिलेसम्म ८ हजार २ सय ७४ पशुचौपाया (गाई गोरु, बाच्छाबाच्छी) रोगी देखिएको तथा २ सय ५३ गाई गोरु      मरेको स्थानीय तहका पशु शाखाहरूले जनाएका छन् । जिल्लाभरि लम्पी स्कीनका कारण ८ हजार बढी पशुचौपाया संक्रमित देखिएका हुन । सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा लम्पी स्कीनको प्रकोप फैलिएको छ । शैल्यशिखरमा ३ हजार पशुचौपाया संक्रमित हुनुका साथै ४० पशुचौपाया मरेको पशु सेवा शाखाका प्रमुख मुन्नी धामीले बताए । 

यस्तै नौगाड गाउँपालिका पशु सेवा शाखाका प्रमुख प्रकाश सिंह ठगुन्नाका अनुसार २ सय संक्रमित हुनुका साथै ८ पशु चौपाया मरेका छन् । संक्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको उनले बताए । व्याँस गाउँपालिकाका १, ४, ५ र ६ नम्बर वडाहरूमा लम्पी स्कीन देखिएको पशु सेवा शाखा प्रमुख कृष्णराज भट्टले बताए । व्याँसमा अहिलेसम्म एक सय गाई गोरुमा रोग देखिएको तथा २ पशुको मृत्यु भएको छ ।

लेकम गाउँपालिका पशु शाखा प्रमुख थानेश्वर बोगटीका अनुसार पालिकाका सबै वडामा रोगको प्रकोप फैलिँदै ६ सय पशुचौपाया संक्रमित र १३ पशुचौपाया मरेका छन् ।  यस्तै दुहुँ गाउँपालिकामा ८ सय १६ पशुचौपाया संक्रमित भएका छन् भने ७७ पशुचौपायाको मृत्यु भएको छ । यो रोगको प्रकोप गाउँपालिकाका सबै वडामा देखिएको पशु विकास शाखाका प्रमुख भागा बडालले बताए । जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिकामा ३ सय ९८ पशुचौपाया संक्रमित रहेकोमा ३३ वटा मरेको पशु सेवा शाखा प्रमुख डम्बर बहादुर ठगुन्नाले बताए ।

मालिकार्जुन गाउँपालिकामा यो रोगको संक्रमण २ हजार पाँच सय पशुचौपायामा देखिएको र ती मध्ये अहिलेसम्म १५ पशुचौपाया मरिसकेको पशु शाखा प्रमुख कल्याण धामीले बताए ।  यस्तै मार्मा गाउँपालिकामा ६ सय पशु संक्रमित हुँदा ६२ पशु मरेको पशु सेवा शाखाका प्रमुख नन्दन सिंह ठगुन्नाले बताए । जिल्लाको अपिहिमाल गाउँपालिकामा पछिल्लो तथ्याङ्क अनुसार ६० चौपाया संक्रमित देखिएको र ती मध्ये ३ चौपायाको मृत्यु भएको दमन सिंह धामीले बताए ।

स्थानीय तहहरूले प्राविधिकहरूलाई गाउँ गाउँमा परिचालन गरेर संक्रमित पशुहरूको औषधोपचार गरिरहेको बताएका छन् । पशुमा यो रोग देखिएपछि किसानहरू चिन्तित बनेका छन् । 

पशुचौपायामा ज्वरो आउने, सिँगान तथा र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, कचेरा लाग्ने, खुर पाक्नेलगायत लक्षणसहित अन्तमा पशुहरूको मृत्यु हुने गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख रामबहादुर खड्काले बताए । रोगको सङ्क्रमणग्रस्त क्षेत्रमा तत्काल निःसंक्रमण, उपचारलगायत नियन्त्रणका कार्यहरू सञ्चालन गर्न कार्यालयबाट पशु चिकित्सकको टोली खटिएको उनले बताए । लक्षण देखिएका पशुचौपायाहरुलाई छुट्टै ठाउँमा राखी सरसफाइमा ध्यान दिन तथा औषधी उपचार गर्न आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ