arrow

सांसद भण्डारीलाई भारत लैजान अस्पतालबाट विमानस्थल लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
chandra-bhandari-kirtipur-hospital.jpg
तस्बिर – फाइल ।

काठमाडौं । ग्यास सिलिण्डर विष्फोट हुँदा जलेर गम्भीर भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजान उपचाररत अस्पताल कीर्तिपुर बर्न अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ । उनलाई दिउँसो २ः४० बजे अस्पतालबाट एम्बुलेन्समा विमानस्थल लगिएको छ । 

उनलाई श्रीएयरलाइन्स विमान चार्टर्ड गरेर भारत लगिएको हो । यसअघि एयर एम्बुलेन्स मगाएर भारत लैजाने तयारी गरिएका बेलामा एयर एम्बुलेन्स आउन ढिला हुने भएपछि श्रीएयरलाइन्स चार्टर्ड गरेर लगिएको हो ।

त्यसका लागि बिहानैदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लागिरहेका थिए । साथै सरकारले पनि संयन्त्र प्रयोग गरेको हो ।   

बुद्धनगर निवासमा गएराति ग्यास सिलिण्डर विष्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहँदा चिकित्सकको टोलीले नेपालमा थप उपचार सम्भव नहुने र विदेश लैजानुपर्ने सुझाव दिएपछि डा. भण्डारीलाई भारत लगिएको हो । 

शुरुआतमा उनकी आमा ८६ वर्षीया हरिकलालाई पनि भारत लैजाने बताइरहँदा थप उपचार गरे पनि उनको स्वास्थ्यमा सुधार नहुने देखेपछि चिकित्सकले नलैजान सुझाव दिएका थिए । 

त्यसपछि डा. भण्डारीले आफू पनि नेपालमै रहेर उपचार गर्ने बताएका थिए । तर चिकित्कसको थप परामर्शपछि उनी भारत जान राजी भएका थिए । 

चिकित्सकहरूका अनुसार सांसद भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको थियो । 

सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन् । 

उनकी आमाको भने उपचारकै क्रममै बिहान निधन भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ