arrow

तीन स्रष्टा पुरस्कृत हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
Dhaulagiri Sahittay pratisthan.jpg

बागलुङ । बागलुङस्थित धवलागिरि साहित्य प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानले विसं २०७८ को ‘काजी रोशन साहित्य पुरस्कार’ सुनसरीका लेखक टीका मिलनलाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारका लागि देशभरबाट प्राप्त कृतिमध्ये निरुपण मण्डलले उनको उपन्यास कृति ‘पटाक्षेप’ लाई छनोट गरेको थियो । हरेक दुई वर्षमा राष्ट्रियस्तरमा प्रदान गरिने उक्त पुरस्कारको राशि रु २० हजार छ । 

प्रतिष्ठानले १६औँ पटकमा उपन्यासकार मिलनलाई सो पुरस्कार प्रदान गर्न लागेको हो । यसअघि उक्त पुरस्कार काठमाडौँका लेखक बाजुराम पौडेल, तनहुँका काशिनाथ न्यौपाने, उदयपुरका मातृका पोखरेललगायतले पाइसकेका छन् ।

यस्तै, प्रतिष्ठानमा स्थापित ‘बम-सरस्वती स्मृति पुरस्कार’ यस वर्ष कपिलवस्तुका स्रष्टा सकुन्तला शर्मा पौडेललाई प्रदान गरिने भएको छ । उक्त बागलुङ, मूलपानी घर भई हाल बेल्जियममा रहेका कवि दीपेन्द्र केसीले हजुरबुबा र हजुरआमाको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन् ।

उक्त पुरस्कार यसअघि नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ, पाल्पाका पुष्कर ‘अथक’ रेग्मीलगायतले पाइसकेका छन् । 

प्रतिष्ठानबाट पहिलोपटक प्रदान गर्न लागिएको ‘हिमलाल-मन्सरा स्मृति पुरस्कार’बाट बागलुङ, बेलवाका स्रष्टा तुलसी पौडेल पुरस्कृत हुने प्रतिष्ठानले जनाएको छ । 

सो पुरस्कारको राशि पनि रु १० हजार रहेको छ । बलेवा निवासी डा प्रेमप्रसाद शर्माले दिवङ्गत बुबाआमाका नाममा सो पुरस्कार स्थापना गरेका हुन् । आउँदो शनिबार बागलुङ सदरमुकाममा आयोजना हुने समारोहमा एकसाथ तीनवटै पुरस्कार समर्पण गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए । 

प्रतिष्ठानले साहित्यको श्रीवृद्धिमा योगदान गर्ने कवि, लेखकहरुलाई बर्सेनि पुरस्कृत गर्दै आएको छ । विसं २०४१ मा स्थापित प्रतिष्ठान भाषा, साहित्य र कलाको उत्थानमा क्रियाशील छ । प्रतिष्ठानमा राष्ट्रियस्तरको ‘भूपि पुरस्कार’ पनि स्थापित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ