arrow

बेँसीसहर-चामे सडक ४० प्रतिशत स्तरोन्नति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
chame-sadak.jpg
फाइल तस्वीर

लमजुङ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ । पैँसठ्ठी किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक पर्दछ । 

बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक स्तरोन्नति गरिएकामा अझै ६० प्रतिशत बाँकी रहेको डुम्रे-बेँसीसहर चामे सडक आयोजनाका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले बताए । 

उनका अनुसार यहाँ नाली निर्माण, टेवा पर्खाल निर्माण, स्याल्व र कल्भर्ट निर्माण र पाइपको काम अन्तिम अन्तिम चरणमा पुगेको छ । नाली निर्माणको काम पनि ६० प्रतिशत बाँकी रहेको र नाली निर्माणपश्चात् भने कालोपत्र कार्य अघि बढ्ने उनको भनाइ थियो । 

सडक चौडा गर्ने, कटिङ गर्ने कार्य गरिएको छ । अब नाली बनाउने र केही संचरना निर्माणलगायत काम बाँकी रहेको उक्त आयोजनाले जनाएको छ । निर्धारित समयसीमा भित्र सम्झौताअनुसार काम सम्पन्न गर्ने लक्ष्यका साथ नै काम अघि बढिरहेको बताइएको छ । 

आगामी असार २९ गतेभित्र उक्त सडक कालोपत्र गरिसक्नुपर्नेमा निर्धारित समयमा काम सम्पन्न गर्न सकिदैन कि भन्ने स्थानीयवासीमा आशङ्का बढ्न थालेको छ । 

सूचना अधिकारी अधिकारीले भने, “दशैँ, तिहार, चुनाव र बर्खायामका कारण काममा सुस्त भएकामा अहिले भने तीव्ररुपमा अघि बढेको छ । स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले विसं २०५१ मा यसखण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोका लागि ट्र्याक्क खोलेका थिए ।’

कार्यालयका अनुसार बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एक साइड मात्र नाली निर्माण हुने भएको छ । पहिलो चरणको उक्त कार्य सम्पन्न भएपश्चात् दोस्रो चरणमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने भएको छ ।

तेस्रो चरणमा रेखाङ्कन, रोड फर्निचर, पेन्टिङलगायत काम गरिने भएको छ । पहिलो चरणको निर्माण गत असार महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघिबढे पनि सम्पन्न भने हालसम्म हुन सकेको छैन । आशिष अनेस्ट जेभीले विसं २०८० असार २९ गतेसम्म कालोपत्र गर्ने गरी विसं २०७८ असार ३० मा सम्झौता गरेर काम अघि बढाएको थियो । 

जोखिमपूर्ण यस सडकखण्डमा वर्षायाममा झन् जोखिम हुँदा मनाङवासी बढी मर्कामा पर्दै आए पनि विस्तारै सडकको स्तरोन्नति भएपछि  केही सहज हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ