arrow

बेँसीसहर–चामे सडक राति बन्द, मनाङ जाने यात्रुलाई समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
besisahar.jpg

लमजुङ। लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङले मंगलबार बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार, वर्षाका कारण विपद्को अवस्था सिर्जना भई यात्रु तथा सवारीमा क्षति हुन नदिन यो निर्णय गरिएको हो। बेँसीसहर–चामे–खाङसार (माथिल्लो मनाङ) सडकखण्डमा अर्को निर्णय नभएसम्म रातिको समयमा सार्वजनिक, निजी तथा सरकारी सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ।

समय तालिकाअनुसार, चामे नजिकैको कोतोबाट अपराह्न साढे ४ बजेपछि बेँसीसहरका लागि सवारी छुट्न पाइने छैन। ती सवारीसाधन नासो गाउँपालिका–१ स्थित तालडाँडा प्रहरी चौकीबाट बेलुकी साढे ६ बजेभन्दा अघिसम्म छुटिसक्नुपर्ने व्यवस्था गरिएको छ। कूल ६५ किलोमिटर रहेको यस सडकखण्डमध्ये ३५ किलोमिटर लमजुङमा र ३० किलोमिटर मनाङमा पर्दछ।

बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेना कार्यगणले वि.सं. २०६९ मा सडक निर्माण सम्पन्न गरेपछि सडक डिभिजन कार्यालय दमौली, तनहुँलाई हस्तान्तरण गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ