arrow

मध्यपहाडी लोकमार्ग निर्माण माग गर्दै चक्काजाम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
madhyapahadi-sadak-marga.jpg

लमजुङ। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरूप आज सुन्दरबजारको खत्रीठाँटीमा चक्काजाम गरिएको छ।

मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–६ को क्याम्पस गेटदेखि खत्रीठाँटीसम्म स्थानीयले क्षतिपूर्तिको माग गर्दै अवरोध गरेका कारण करिब दुई किलोमिटर सडक बन्न सकेको छैन। सुन्दरबजारको यस क्षेत्रबाहेक अन्य स्थानमा काम भइसकेका कारण स्थानीयहरू धुलोमा बस्न बाध्य भएका र विकाससमेत अवरुद्ध बनेको भन्दै सङ्घर्ष समितिले चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम आयोजना गरेको हो।

सङ्घर्ष समितिले सडक निर्माण हुनुपर्ने र सहजीकरणको माग गर्दै यसअघि नै प्रमुख जिल्ला अधिकारी, आयोजना कार्यान्वयन एकाइ पालुङटार र नगरपालिका समक्ष ज्ञापनपत्रसमेत बुझाइसकेको छ। नगरपालिकामा पटकपटक ध्यानाकर्षण पत्र बुझाउँदा पनि स्थानीय तहले कुनै सकारात्मक कदम नचालेको सङ्घर्ष समितिको गुनासो छ। बजार क्षेत्रबाहेक अन्यत्र निर्माण कार्य पूरा भइसकेको सडकको छोटो खण्ड निर्माण हुन नसक्दा यात्रु र सवारीसाधनलाई कठिन भएको, धुलो र सडकमा पानी जम्ने खाल्डाखुल्डी भएका कारण समस्या भएको स्थानीयको भनाइ छ। मध्यपहाडी लोकमार्गमा परेको सडक भएकाले स्थानीय सरकारले समेत मर्मत गर्न नमान्दा सडकको अवस्था झनै नाजुक बन्दै गएको छ।

सडक बनाउनुपर्ने दबाब दिनका लागि गठित ११ सदस्यीय सङ्घर्ष समितिले बुधबारबाट चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत तय गरेको छ, जसको संयोजकमा राजेन्द्र केसी र सहसंयोजकमा चित्रबहादुर केसी रहेका छन्। सङ्घर्षका कार्यक्रमअनुसार मङ्सिर २६ गते सुन्दरबजार नगरपालिकाको कार्यालय प्रवेश गरी बिहान ९:०० देखि ११:०० बजेसम्म तालाबन्दी गर्ने कार्यक्रम तय भएको छ। मङ्सिर २७ गते खत्रीठाँटीदेखि क्याम्पस गेटसम्म शान्तिपूर्ण रूपमा प्लेकार्डसहित नारा जुलुस गर्ने र मिलनचोकमा कोणसभा गरी सडक निर्माणको पहल गर्न सम्बन्धित निकायहरूलाई दबाब दिने कार्यक्रम तय भएको बताइएको छ। चरणबद्ध रूपमा आन्दोलन गर्दासमेत सडक निर्माणमा कुनै पहल नभएमा बाँकी कार्यक्रम तय गरिनेसमेत समितिले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ