arrow

रवि गृहमोहको विषयमा माओवादी पनि अन्योलमा, स्थायी कमिटी बैठक स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
prachanda-ravi-2079-10-17.jpg
तस्बिर – फाइल ।

काठमाडौं । गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिने बारेमा निर्णय गर्न बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । स्थायी कमिटी सदस्य गणेश शाहले आज बस्ने भनिएको स्थायी कमिटी बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी दिए । 

गत आइतबार रविले पुनः नागरिकता लिएपछि फेरि गृह मन्त्रालय आफूले नै पाउनु पर्ने भन्दै आएका छन् । गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने सहमति हुँदा गृह मन्त्रालयले रास्वपाले पाएको थियो । 

तर नागरिकता विवादमा रवि मुछिएर सर्वोच्चले नागरिकता पुनः  लिनुपर्ने फैसला गरेपछि ३२ दिनपछि गृहमन्त्रीबाट राजीनामा दिएका थिए । उनको सांसद पद पनि खोसिएको छ । तर आइतबार नागरिकता लिएपछि संविधानअनुसार नै गैरसांसद पनि ६ महिना मन्त्री बन्न पाउने आधारलाई टेकेर रविले आफूलाई गृह दिन दबाब दिइरहेका छन् । 

यसअघि मंगलबार बसेको माओवादीको पदाधिकारी बैठकमा भने प्रचण्डले सर्वोच्चको पूर्णपाठ आएपछि मात्रै रविलाई गृहमन्त्रालय दिन सकिने बताएका थिए । तर प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत गृह रविलाई नै दिन दबाब दिइरहेका छन् । 

आज पनि ओलीले रविलाई गृह माग्दै बालुवाटारमा पुगेर प्रचण्डलाई दबाब दिएका थिए । त्यस्तै राप्रपा अध्यक्ष एवं उर्जामन्त्री राजेन्द्र लिङ्देन पनि बालुवाटार पुगेका थिए । 

यसअघि सोमबार बसेको माओवादीको पदाधिकारी बैठकले सोमबार र मंगलबार आन्तरिक तयारी गरेर बुधबार स्थायी समिति बैठक राख्ने निर्णय गरेको थियो । कार्यव्यस्तता भन्दै बैठक आज बस्न सकेन । 

अब बैठक भोलिका लागि डाकिएको छ । 

नेपाली नागरिकताले वैधानिकता नपाएपछि रवि लामिछाने पदमुक्त भएसँगै गृहमन्त्री पद रिक्त रहेको छ । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् । 

तर, गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले नै पाउनुपर्ने अडान लिएको छ भने उसलाई एमालेले पनि साथ दिएको छ । तर गृहमन्त्रालय आफैँसँग राख्ने माओवादीको पनि तयारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ