arrow

रविप्रति ओलीको फेरियो बोली, के गर्लान् त प्रचण्ड ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
prachanda-oli-ravi.jpg

काठमाडौं । मंसिर ४ को आम निर्वाचन अघि चितवनमा चुनाव प्रचारलाई सम्बोधन गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई लक्षित गर्दै केही मानिसहरु आउँछन् घण्टी बजाउँदै जान्छन् भनेर व्यंग्य गरेका थिए । 

मंसिर ४ पछि निर्वाचनको परिणाम आउन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित सिट र मत ल्याएपछि भने एमाले अध्यक्ष ओलीको बोली र व्यवहार फेरिँदै गयो । जसको परिणाम दोहोरो नागरिकता प्रयोग गरेका लामिछानेलाई गृह मन्त्रालयको चाबीसमेत सुम्पिन तयार भए । शुक्रबार साँझ सर्वोच्च अदालतको फैसला आएपछि लामिछानेको सबै पद गुम्यो । 

आइतबार दिउँसो जब जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रविले नागरिकता लिएपछि ओलीले प्रचण्डलाई फोन गरेर मात्र होइन भेट गरेर नै गृह मन्त्रालयमा फर्काउन दबाब दिए । उनको दबाबपछि प्रचण्डले माओवादीको केन्द्रीय पदाधिकारीको बैठक राखेर नै राय सुझाव लिए । 

सो सुझावमा माओवादी नेताहरुले एमाले अध्यक्ष ओलीले रविप्रति धेरै नै माया प्रेम देखाएको तर उनी विवादित व्यक्ति भएकाले तत्कालै गृह मन्त्रालयको जिम्मेवारी दिन नहुने सुझाव दिएका छन् । 

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग गृह मन्त्रालय नछाड्ने अडान राखेर हिँडेपछि सोमबारको पदाधिकारी बैठकमा त्यही कुरा राखेका थिए । 

आइतबार साँझ बालुवाटार पुगेका लामिछानेले गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेको र सो मन्त्रालय नछाड्ने अडान राखेका थिए । नेपाली नागरिकता लिएर रास्वपाको पुनः सभापति भएपछि गृह मन्त्रालयबारे छलफल गर्न उनी बालुवाटार पुगेर ओलीकै शैलीमा दबाब दिएका थिए । 

‘ओलीको आडमा रविले पनि प्रधानमन्त्रीलाई गृह मन्त्रालय नछाड्ने बताएका रहेछन्’, माओवादीका एक पदाधिकारीले भने ‘सरकारको नेतृत्व एउटाले गर्ने दबाब अरुले नै दिने यसरी कसरी सरकार चलाउन सकिन्छ प्रधानमन्त्रीको यस्तो गुनासो सुनियो ।’

ओलीलेसमेत लामिछानेलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेपछि लामिछाने पनि साँझ प्रधानमन्त्रीसँग कुराकानी गर्न पुगेका बेला कुनै पनि जवाफ नदिई पार्टीका साथीहरुसँग कुराकानी गर्ने भनेर फर्काएका थिए । 

त्यही क्रममा सोमबार बसेको पदाधिकारी बैठकले कुनै पनि हालतमा गृह मन्त्रालय नछाडने तहमा निर्णय गराएको छ ।  ‘विवादित व्यक्तिलाई गृहमन्त्रालय दिनु हुँदैन’, पार्टीका उपमहासचिव शक्ति बस्नेतको भनाईलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो । 

स्रोतका अनुसार कृष्णबहादुर महरा, हितमान शाक्य, शक्ति बस्नेत, चक्रपाणी खनाल लगायतका नेताहरुले गृह मन्त्रालय नछाड्न सुझाव दिएको र त्यसको निर्णय गर्ने अधिकारी पनि अध्यक्षलाई दिएका थिए ।

 ‘गृह मन्त्रालय दिने नदिनेबारे उहाँले गठबन्धन दलहरुसँग छलफल गर्छु भन्नु भएको छ’, पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले भने । उनको राजीनामापछि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आफैँसँग राखेका छन् । 

आइतवार नागरिकता पुनः प्राप्ति गरेसँगै रविले फेरि गृह मन्त्रालयमै फर्किन चाहेका थिए । माओवादी नेताहरु भने आन्तरिक सुरक्षाको गम्भीर जिम्मेवारी बोकेको गृह प्रधानमन्त्रीले छोड्न नहुने पक्षमा उभिएर उनलाई नदिने पक्षमा छन् ।

 ‘विगतमा सत्ता साझेदार दलहरुसँग भागबन्डा मिलाउन छोडिएको थियो, अहिले गृह प्रधानमन्त्रीसँगै छ, के गर्दा राम्रो हुन्छ त्यही गर्नु भनेका छौँ’, अर्का एक पदाधिकारीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ