arrow

पहिले बटौलीमा गाडी गुड्थे, अहिले घर अगाडि गुड्छन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ७ शनिबार
Tamang Khola.jpg

बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएको धेरै समय भएको छैन । अझै केही ठाउँमा सडक पुगेका छैनन् । सडक पुगेका गाउँका स्थानीय अहिले घर अगाडि नै गाडी कुद्दा दङ्ग छन् । सडक विस्तार भएपछि अहिले उनीहरुको जीवनस्तर बदलिएको छ ।

सदरमुकामसँग सिमाना जोडिएका गाउँमा एक दशक अगाडिनै मोटरबाटो पुगेपनि दूर्गम गाउँमा भने स्थानीय सरकार आएपछि मात्रै सडक सञ्जाल र यातायातको सुविधा विस्तार भएको हो ।

जिल्लाको तमानखोला गाउँपालिका-४ का हर्कबहादुर छन्त्याल अहिले ७९ वर्षीय पुग्नुभयो । अहिले उनको घरै अगाडि दैनिक गाडी गुड्छन् । आफ्नै आँखा अगाडि आएको परिवर्तन छन्त्याललाई कथा जस्तै लाग्छ ।

उनले आफ्नो जीवनमा भोगेका कैयन वास्तविकता सुनाउँदा साँच्चिनै मुलुकमा धेरै परिवर्तन भएको बताउछन् । २०१८ सालदेखि बुटवलबाट खाद्यान्न तथा नून बोकेर उपभोग गर्दै आएका छन्त्याल अहिले आफ्नै घर नजिक सामान पाउँदा दङ्ग छन् ।

छन्त्यालले उति बेला स्वास्थ्य उपचार समयमै नपाउँदा धेरैले ज्यान गुमाउनुपरेको भन्दै अहिले गाउँ-गाउँमा स्वास्थ्य उपचार हुने हुँदा खुसी व्यक्त गरे । अनेकौँ उतारचढाव पार गर्दै अहिलेसम्म आउँदा आफूले सोँच्दै नसोचेको विकास भएको उनको भनाइ छ ।

“गाउँमा यति ठूलो परिवर्तन आयो, गाउँलेहरुले यसरी हाम्रो दिन फेरिएला भन्ने सोचेका थिएनौँ, २०१८ सालमा बटौलीमा नुन लिन गएका बेला मोटर सररर चलेको देख्दा रमिता झै लागेको थियो, बिजुली बलेको देख्दा अचम्म लाग्थ्यो, अहिले त घरै अगाडी मोटर गुड्छ, बिजुलीले घरै झलमल छ, हाम्रा छोरानातिले हामीले जस्तो दुःख भोग्न परेन” छन्त्यालले भने ।

उनी भन्छन्, “हाम्रो गाउँमा गाडी आउन पाँच सय वर्ष लाग्छ होला भन्ने अनुमान गरेका थियौँ, तर अहिले गाडी, बिजुलीलगायतको सुविधा उपभोग गर्न पाउदा स्वर्गमा आएजस्तै लागेको छ, पहिला हामीलाई धेरै दुःख थियो अहिलेकाले त्यो कुरा बुझ्दैनन् ।”

स्थानीयवासी फूलकुमारी पुनले बुटवलबाट नून लिएर घर आउँदा आधा महिना बित्ने गरेको भन्दै अहिले एकै दिनमा आउनजान सकिने बताउछन् । उनले नून ल्याउन जाँदा खर्च बोकेर जाने गरेको सुनाउँदै बाटोमै कयौँ रातविताउनु परेको नमिठो अनुभवसमेत सुनाए । मोटरबाटोले विकासका अन्य ढोका खोल्ने भन्दै अहिले गाउँका धेरै समस्या समाधान भएको बताउँछन् ।

“अहिलेको जस्तो जामाना थिएन पहिले, गाउँका धेरैजना एकजुट भएर बटौली नून ल्याउन जान्थ्यौँ, बाटोमै खानु पर्ने, सुत्नु पर्ने हुन्थ्योँ तर रमाइलो र  कष्ट पनि हुन्थ्यो,” पुनले भने । “धेरै जना भएर जाँदा बाटोमा गीत गाउदै रमाइलो गरिन्थ्यो, कति साथीले त त्यही समयमा बिहेसमेत गरेका थिए” उनले स्मरण गरे ।

उनले आफू ४० वर्षको उमेरमा गाडी चड्दाको अनुभव सुनाउँदै अव कसैले पहिलेको जस्तो दुःख भोग्न नपर्ने बताउछन् । अहिले त नजिकै पालिकामा जाँदा पनि गाडी चडेर जाने गरेको उनले बताए । उनले गाउँमा मोटरबाटो आएपछि गाउँले बिरामी हुँदा निकै सहज भएको र समयमा नै अस्पताल पुर्याउन सकिएको बताए ।

उनले भने, “पहिले गाउँमा गारेटो बाटो मात्रै थिए, अहिले माथिमाथिलेसकेसम्मै मोटरबाटो पुगेको छ, हाम्रा पालाका मान्छे धेरैजसो ३०/४० कटेपछि मात्रै गाडी देखेका थिए, त्यसबेला नौडाँडाबाट गाडीमा चडेको थियौँ, त्यसभन्दा अगाडि बाटौलीमा नून लिन जाँदा गाडी त देखेको थिएँ तर चढेको थिएन, पहिलो पटक गाडीमा चड्दा निकै मन फुरुङभएको थियो, खुसीले संसारै जितेको जस्तो लागेको थियो, घर फर्किँदा उही गोरेटोमा यात्रा गर्नुपर्थ्यो ।”

उनले उति बेला गाउँमा उपचारको लागि नजिकै स्वास्थ्य संस्था नभएको, पानीका लागि टाढा जानुपर्ने समस्याको अहिले समाधान भएको, विकासका पूर्वाधारको विस्तार भएर जीवनस्तर सहज भएको बताए ।

“हाम्रो पालामात स्वास्थ्य संस्था थिएनन्, कोही बिरामी भए काठमाडौँ, पोखरा लैजानुपर्थ्यो, समयमा उपचार नपाउँदा कतिले ज्यान गुमाउनु पर्थ्यो,” उनले विगतलाई सम्झँदै भने, “अहिले त गाउँमै उपचार हुन्छ, यहाँ हुननसके ठूला अस्पतालमा छिट्टै पुर्याउन सकिन्छ, अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छैन ।”

तमान खोला अझै पनि जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिन्छ । स्थानीय सरकार सठन भएपछि विस्तारै सुगम बन्दै गएको छ । भौगोलिक विकटता र सदरमुकाम भन्दा टाढा हुँदा त्यस क्षेत्रका जनताले वर्षौँदेखि सास्ती खेप्दै आएका थिए । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जनप्रतिनिधि भएर आएको पहिलो कार्यकाल जनताको मुख्य आश्यकतालाई परिपूर्ति गर्ने गरी काम गरेको बताए ।

सडकनै विकासको मुख्यआधार भएको भन्दै अध्यक्ष बुढा भन्छन्, “तमानखोला भौगोलिक हिसाबले पछाडि छ, विकासका पूर्वाधारलेसमेत नजोडिदा यहाँका नागरिकको अवस्था निकै कष्टकर थियो, तर अहिले धेरै परिवर्तन आएको छ, स्थानीयस्तरमा नै प्रशासनिक तथा अन्य काम हुने गरेको छ ।”

गाउँमा सडक र यातायातको विस्तार भएपछि घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने समस्याको अन्त्य भएको छ । पलिका हप्तादिनसम्म लाग्ने काम अहिले एकैदिनमा गर्न सकिने भएपछि स्थानीय हर्षित भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ