arrow

कर्णाली प्रदेश सभामा महिला सभामुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
karnali-pradesh-province-6.jpg

कर्णाली । विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन ।  

राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संविधानमा व्यवस्था छ । विसं २०७४ को निर्वाचनपश्चात प्रदेशसभामा निर्वाचित कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिला सातै प्रदेशमा निर्वाचित भए । संसद्मा सभामुख र उपसभामुखमा पुरुष वा महिला अनिवार्य हुनुपर्ने संवैधानिक बाध्यताले सबै प्रदेशमा उतिबेला महिला उपसभामुखमा मात्र चुनिए ।

विसं २०७९ को निर्वाचनपश्चात कर्णाली प्रदेशसभाले आइतबार मात्र सभामुख प्राप्त गरेको छ । माघ १ गते सम्पन्न भएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा सदस्य नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको हो । सभामुखमा निर्वाचित उन सङ्घीयताको इतिहासमा नेपालकै पहिलो महिला हुन् ।

नवनिर्वाचित सभामुख गुरुङको जीवनी
विसं २०२३ फागुन २ गते आमा कुमारी र बुवा लालबहादुर गुरुङको जेठी छोरीका रूपमा दैलेखको नारायण नगरपालिका-७ नयाँगाउँमा जन्मिएकी थिइन् । आमा बुवासहित परिवार बसाइँ सरेपछि उनको बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा बित्यो । उनले प्रारम्भिक शिक्षा बर्दियाबाट लिइन् ।

घरमा दाजुहरू राजनीतिमा आबद्ध भएकाले गुरुङमा सानै उमेरदेखि राजनीतिक प्रभाव थियो । त्यही प्रभावले आठ-नौ कक्षा पढ्दा नै राजनीतिकबारे बुझ्न थालेकी उनले विसं २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियु छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी गुरुङले विसं २०४६ पछि नेकपा (एमाले)को राजनीतिमा जोडिन् ।

एमालेको प्रारम्भिक कमिटी, वडा, क्षेत्र हुँदै जिल्ला कमिटीमा आबद्ध भएर सदस्यका रूपमा काम गरिन् । त्यस्तै युवासङ्घको जिल्ला कमिटीमा दुई कार्यकाल सदस्य भएर काम गरिन् । पछि विसं २०५४ मा हालको वीरेन्द्रनगर नगरपालिका-२ (साविकको उत्तरगङ्गा गाविस-४ सुर्खेत)को वडासदस्यमा विजयी भइन् । त्यही सालमा मेनिन्जाइटिस् रोगका कारण उनले पति धर्मबहादुर गुरुङलाई गुमाउनुपर्‍यो ।

एकल महिलाको सङ्घर्षपूर्ण जिन्दगीलाई उनले समाज सेवामा लगाउँदै पछि खुला शिक्षातर्फ वीरेन्द्रनगर-१२ अमरज्योति माविबाट विसं २०६५ मा एसएलसी, २०६६-६७ मा जनमाविबाट प्रवीणता प्रमाणपत्र तह र २०७० मा सुर्खेत क्याम्पस शिक्षाबाट स्वास्थ्य विषय लिएर स्नातक पास गरिन् ।

अखिल नेपाल महिला सङ्गठनको जिल्ला संयोजक र केन्द्रीय सदस्यका रूपमा काम गर्दै आएकी गुरुङ अहिले प्रदेश कमिटी सदस्य हुन् । उन एकल महिला तथा महिलाहरूको हकहितका लागि  पनि क्रियाशील हुन् । हाल मानवअधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि हुन् । तीन दाजु र आफूसहित एक बहिनी भएकी सभामुख गुरुङका दुई छोरा र एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ