arrow

रामपुर नगरपालिकाले राख्यो नागरिक बडापत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
rampur nagarpalika.jpg

पाल्पा । रामपुर नगरपालिकाले नागरिक बडापत्र राखेपछि सेवाग्राहीलाई जानकारी लिन सजिलो परेको छ ।

नयाँ भवनमा नगरपालिका कार्यालय सरेर सेवा सुचारु भए पनि नागरिक बडापत्र नहुँदा सेवाग्राहीले सो सेवा उपयोग गर्न पाएका थिएनन् । अहिले भने कार्यालयको भित्तामा बडापत्र राखेपछि यसैबाट कार्यालयले दिने सेवा सुविधाबारे जानकारी लिने गरेको सेवाग्राही बताउँछन् ।

विगतमा ‘रामपुर नगरपालिकामा छैन नागरिक बडापत्र’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । सो समाचारको प्रभावले नगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले देख्ने गरी नागरिक बडापत्र राखेको छ ।

पूरानो भवनबाट नयाँ भवनमा सरेको लामो समय बितिसक्दा पनि नागरिक बडापत्र राख्न नगरपालिकाले तदारुकता नदेखाएपछि राससमा समाचार प्रकाशन भएको थियो । सेवाग्राहीलाई मध्यनजर गर्दै तत्काललाई भित्तामा राखिएको छ भने प्रविधिको युग भएकाले डिजिटल राख्न कार्यालयले तयारी गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने बताउछन् ।

“डिजिटल प्रविधिको राख्ने तयारीमा रहेकाले नयाँ भवनमा बडापत्र राखिएको थिएन”, उनले भने, “अहिलेलाई भित्तामा सबैले देख्ने गरी तयार पारेर राखेका छौँ, अब प्रविधिको बडापत्र तयार हुनेछ ।”

नगरपालिका कार्यालयमा आफूले पाउने सेवासुविधा उल्लेख हुने भएकाले यो सेवाग्राहीको लागि उपयोगी र जानकारीमूलक सूचना पार्टी रहेको सेवाग्राही शर्मिला पौडेल बताउछन् ।

उनले भने, “एक पटक बडापत्र सरसर्ती पढेपछि के के सेवा पाइने रहेछ सबै कुराको जानकारी हुन्छ, कहाँ कसरी सेवा लिन कोसँग सोध्ने भनेर अलमलमा पर्नुपरेन, यो हामी सेवाग्राहीलाई उपयोगी र जानकारी लिन सहज भएको छ ।”

सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक बडापत्र हो । पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्न नागरिक बडापत्र महत्वपूर्ण औजार मानिन्छ ।

रामपुर नगरपालिका कार्यालय र वडा नं ४, ५ र ७ को कार्यालयमा डिजिटल प्रविधिको बडापत्र राख्ने कार्यक्रम अनुसार आवश्यक विवरण सङ्कलन गरिरहेको प्रशासन शाखा प्रमुख युवराज पन्थीले बताए ।

नागरिक बडापत्रसम्बन्धी सुशासन (व्यवस्थापन र सञ्चालन ऐन २०६४) ऐनमा भएको व्यवस्थाअनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्दछ । सूचना पाउने नागरिकको नैसर्गिक अधिकार हो । नागरिकले सूचना छिटो पाउनुपर्दछ र कार्यालयमा प्रष्टसँग देखिने गरी राख्नुपर्छ ।

पुरानो भवनमा (हाल रामपुर ५ को वडा कार्यालय रहेको) नागरिक बडापत्र राखिएको थियो । प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने, कानुनको शासनलाई प्रत्याभूति, सार्वजनिक निकायमा पारदर्शिताको प्रवर्द्धन, सरकारी काम कारबाहीमा अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार हटाउने, सेवा वितरण प्रणालीमा सुधारको लागि पृष्ठपोषण प्राप्त, दण्ड पुरस्कार प्रणालीको विकास तथा समग्रमा सुशासन कायम गर्ने उद्देश्यले नागरिक बडापत्र राख्ने परम्पराको विकास भएको पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ