राम्दीमा नेपालकै पहिलो सीएफएसटी आर्च पुल निर्माण अन्तिम चरणमा
असारभित्रै सञ्चालनमा ल्याउने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
450
Shares
काठमाडौँ । पाल्पाको राम्दीस्थित सिद्धार्थ राजमार्गमा नेपालकै पहिलो पटक नयाँ प्रविधिको ‘कन्क्रिट फिल्ड स्टिल ट्युब (सीएफएसटी)’ आर्च पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार निर्माणाधीन पुलको ९० प्रतिशत काम सकिएको छ र गुड्ने गरी आउँदो असारभित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
पुलको मुख्य संरचना तयार भइसकेको र अब डेक कन्क्रिटिङ तथा केही सहायक संरचनाको काम मात्र बाँकी रहेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा यो पुल सञ्चालनमा ल्याउन विभागले आफ्नो प्रयास तीव्र पारेको छ।
राम्दी क्षेत्र सिद्धार्थ राजमार्गको अत्यन्तै रणनीतिक र महत्वपूर्ण बिन्दु मानिन्छ। राष्ट्रिय सडक सञ्जालका साथै जलविद्युत आयोजनाका भारी उपकरणहरू ढुवानी गर्नका लागि यो पुल निकै महत्वपूर्ण छ। गुड्ने सवारीसाधनका कारण पुरानो पुलमा केही वर्षयता कम्पन (भाइब्रेसन) सम्बन्धी समस्या देखिएपछि र नियमित मर्मत गर्दा पनि दीर्घकालीन समाधान नभएपछि यो नयाँ पुल निर्माण प्रक्रिया अघि बढाइएको हो।
यो नयाँ पुल ‘डिजाइन एन्ड बिल्ड’ ठेक्का प्रणालीमार्फत निर्माण भइरहेको छ, जसमा निर्माण व्यवसायीले प्रस्तुत गरेको नौलो प्रकारको सीएफएसटी डिजाइनलाई विभागले स्वीकृत गरेको थियो।
१२५ मिटर स्पान रहेको यस पुलको मुख्य संरचनामा स्टिल ट्युबभित्र कन्क्रिट भरिने प्रविधि अपनाइएको छ। कन्क्रिट जमिसकेपछि स्टिल र कन्क्रिट एकीकृत भई अत्यन्तै बलियो संरचना तयार हुन्छ र पुलको सम्पूर्ण भार दुवै किनारका एबटमेन्टमा स्थानान्तरण हुन्छ। यस्तो प्रविधि विशेष गरी चीनमा व्यापक रूपमा विकास र प्रयोग हुँदै आएको छ र यो नेपालको भूगोलका लागि पनि उपयुक्त मानिएको छ।
इन्डियन रोड स्ट्यान्डर्ड अनुसार निर्माण भइरहेको यस पुलको एक्सेल लोड १० टन र समग्र भार वहन क्षमता करिब १०० टनसम्म रहनेछ। नेपालमा यसअघि मुग्लिङ र काठमाडौँको बिजुलीबजारमा आर्च पुलहरू बने पनि भर्टिकल ह्याङ्गरयुक्त सीएफएसटी प्रविधिमा आधारित पुल निर्माण हुन लागेको यो नै पहिलो पटक हो। लामो दूरीको पुल सिधा बनाउँदा कमजोर हुने भए पनि यसलाई आर्च अर्थात् धनुष आकारको ढाँचा दिइएकाले यसको आफ्नै ज्यामितीय बनोटले गर्दा यो पुल अत्यधिक स्थिर र बलियो हुने विभागले जनाएको छ।