arrow

पाल्पामा ऐतिहासिक भगवती रथयात्रासहितको सिन्दुर जात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
Palpa-Bhagawati-jatra-google.jpg

तानसेन (पाल्पा)। नेपाल-अङ्ग्रेज युद्धमा नेपाली सेनाले विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहितको सिन्दुर जात्रा आयोजना गरिँदै छ। यो यस वर्ष २०६औँ भगवती खट यात्राका रूपमा मनाइँदैछ।

वि.सं १८७१ देखि १८७२ सम्म चलेको युद्धमा पाल्पाली कमान्डर कर्णेल उजिरसिंह थापाले बुटवलको जितगढी लगायतका क्षेत्रमा अङ्ग्रेज फौजलाई पराजित गरेपछि प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन यो विजयोत्सव मनाउने परम्परा सुरु भएको थियो। कर्णेल थापाले जितगढीमा विजय प्राप्त गरेपछि पाल्पामा भगवती मन्दिर स्थापना गरी सिन्दुर यात्रासहित जात्रा निकाल्ने भाकल गरेका थिए, जसअनुसार वि.सं १८७६ मा मन्दिर निर्माण गरी जात्राको थालनी भएको मानिन्छ।

आजको दिन पाल्पाको तानसेन बजारमा विशेष चहलपहल छ, जहाँ गाउँ-गाउँबाट मानिसहरू जात्रा हेर्न आइरहेका छन्। श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले यस वर्षको जात्राका लागि सबै तयारी पूरा भएको बताए। यस वर्षको भगवती रथयात्रामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति अशोकराज सिग्देल लगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने समितिले जनाएको छ।

भगवती मन्दिर व्यवस्थापन समितिका सदस्यसचिव प्रकाशनाथ गङ्गोलका अनुसार, पूजा र अन्य विधिहरू तांत्रिक तरिकाले सम्पन्न गरिनेछ। रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित विभिन्न सङ्घसंस्थाको सहभागिता रहनेछ। यस जात्रामा विशेषगरी कुमाल समुदायले भगवतीको रथलाई नगर परिक्रमा गराउने परम्परा रहेको छ। जात्राको सुरक्षाका लागि जिल्लाभर कडा सुरक्षा व्यवस्था गरिएको छ। यो ऐतिहासिक जात्राका लागि प्रदेश सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ