माधव नेपाल र उपेन्द्र यादवसँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
1.9k
Shares
काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनुअघि नै पार्टी एकताको प्रस्ताव अघि सारेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग उनले सो प्रस्ताव गरेका हुन्।
प्रचण्डको सो प्रस्तावपछि आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार अध्यक्ष नेपाल र यादव पुगेका थिए । प्रधानमन्त्रीले मङ्गलवार विश्वासको मत लिने भएपछि उनले वृहत् वामपन्थी एकताको नारा दिएर नेकपा एसलाई र बाबुराम भट्टराईलाई माओवादीमा ल्याउने कोसिस गरेका छन् । साथै उनले वामपन्थीसँग नजिक रहेका उपेन्द्र यादवलाई पनि विश्वासको मत माग्दै पार्टी एकताको प्रस्ताव गरेका हुन् ।
‘प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रयास गरिरहनुभएको छ, त्यसका लागि आवश्यक परे पार्टी एकता गर्नुपरे पनि पछि नहट्ने बताउनु भएको छ’, सिंहदरबारमा प्रचण्डसँगै रहेका एक माओवादी नेताले भने ।
अहिलेको सरकारलाई जसपाले सरकारलाई समर्थन गरिसकेको छ भने नेकपा एस अझै पर्ख र हेरेको अवस्थामा रहेको तर विश्वासको मत दिने पक्षमा रहेको छ । आइतबारको भेटमा प्रधानमन्त्री प्रचण्डले दुई नेतालाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका गर्नुका साथै पार्टी एकताबारे पनि छलफल गरेको स्रोतको दाबी छ ।
न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको भन्दै जसपाले शनिवार विश्वासको मत दिने आधार खडा भएको निर्णय गरेको थियो ।
प्रचण्डसँग रिसाएका माधव नेपालले आइतबार बिहान प्रचण्डसँग तेस्रो भेट गरेका छन् । सुरुमा कांग्रेससँग गठबन्धन तोड्नै पर्ने स्थित आए एमाले अध्यक्ष केपी ओलीसँग सँगै गएर कुराकानी गर्ने प्रचण्ड र नेपालको बीचमा समझदारीलाई प्रचण्डले उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएर बसेका थिए ।
तर प्रचण्ड प्रधानमन्त्री भएपछि यी दुई नेताका बीचको यो तेस्रो भेटघाट भएको थियो । नेपालले प्रधानमन्त्रीसँग पहिलो पटक प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तिवनस्थित निवासमा र दोस्रो पटक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका थिए । त्यसपछि आइतबार माओवादी दलको कार्यालयमा यो तेस्रो भेटवार्ता हो ।
प्रधानमन्त्रीले माधव नेपालसँग विश्वासको मत दिन र सरकारमा समेत सहभागी हुन आग्रह गरिरहेका छन् । आइतबार सुरुमा माधव नेपाल र त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि सँगै भेटघाट गरेका छन् ।