arrow

सभापति देउवालाई पत्रः तपाई कसका लागि संसदीय दलमा लड्दै हुनुहुन्छ ?

logo
भिम बडुवाल,
प्रकाशित २०७९ मंसिर २६ सोमबार
bhim-baduwal-congress.jpg

श्रद्धेय सभापति श्री शेरबहादुर देउवाज्यू, 
भर्खरै हाम्रो पार्टी नेपाली कांग्रेस संसदमा सबैभन्दा ठूलो दलका रुपमा उभिएको छ। यो सफलताको निम्ति तपाईलाई धेरै धेरै धन्यवाद र हार्दिक बधाई छ । तर यो उपलब्धि आफ्नै बलबुँतामा नभएर पाँच दलको बैशाखी टेकेर भएकोले यसमा गर्व गर्नु आत्मरति शिबाय केही हुने छैन । 

अहिले तपाईंको नेतृत्वमा सरकारमा जाने खेलहरु शुरु भएका छन् । त्यो स्वभाविक पनि होला किनभने पार्टीको प्रमुख तपाईं जो हुनुहुन्छ। सरकारमा जानुभन्दा पहिले पार्टी विधानअनुसार संसदीय दलको नेता चयन गर्नुपर्छ त्यो चयनको प्रक्रिया शुरु हुँदैछ । 

खास गरेर संसदीय दलको नेतामा तपाई र युवा पुस्ताको प्रतिनिधि पात्र गगन थापाका बीचमा प्रतिस्पर्धा हुने निश्चित देखिन्छ । यहाँ म तपाईको शुभेच्छुक र कार्यकर्ताको हैसियतमा थोरै सल्लाह दिन उभिएको छु । किनकि मैले पनि तपाईंलाई नै नेता मानेर तीन पटक सभापतिमा मतदान गरेको हुनाले यो सल्लाह दिने अधिकार पनि राख्दछु भन्ने ठानेको छु ।

१, यो पटक तपाई आफ्नो छाती फराकिलो बनाएर युवा पुस्तालाई संसदीय दलको नेता बनाइदिनुस् । किनकि इतिहास साक्षी छ कुनै दिन गिरिजाप्रसाद कोइरालाले आफू जित्ने प्रबल संभावना हुँदाहुँदै तपाईलाई जम्मा जम्मी ४८ वर्षको हुँदा दलको नेता बनाउनु भएको थियो । जबकि त्यतिबेला तपाईको संसदको अनुभव जम्मा जम्मी ३ वर्षको मात्रै थियो। 

आज तपाईसँग प्रतिस्पर्धामा उभिएका गगन थापा उमेरमा पनि ४७ वर्ष र संसदमा पनि १५ वर्ष बिताइसकेका छन् । तपाईले आफ्नै अग्रजहरुबाट यत्ति कुरो सिक्नुभयो भने सिङ्गो देशले तपाईप्रति गौरबको अनुभूति गर्नेछ ।

२, तपाई बयोवृद्ध हुनुभएको छ। नेपाल देशले तपाईको ठूलो सेवा गरिसकेको छ। अब यो मुलुकले तपाईबाट प्राप्त गर्न केही बाँकी छैन । तपाईले पनि लोकतन्त्र र देशका निम्ति कुर्बानी गर्नु भएकै हो । त्यो भन्दा बढी देशले तपाईको ऋण तिरिसकेको पनि त साँचो होनि ।  तपाईको मानसिक र भौतिक अवस्था अब विश्राम गर्ने हो । जुद्द शमशेरले समेत ७० वर्षकै उमेरमा राज्य त्याग गर्नु भएको थियो होइन र ? यो इतिहास पनि स्मरण गर्ने होकि ! 

३, यो समय प्रतिभाशाली मानिसहरुको हो । जसले दिनमा १७र१८ घन्टा देशका निम्ति खटन सक्छन्, देशको चुनौतीलाई सामना गर्न सक्छन् । यो समय उनीहरुको हो। जुन कुरो तपाईबाट सम्भव छैन ।

४, मलाई लाग्छ आजका दिनमा तपाईलाई भर्याङ् बनाएर आफ्नो दुनो सोझ्याउनेहरुका निम्ति तपाई बाँचिरहनु भएको छ । उनीहरुको भलाइका निम्ति तपाई फेरि संसदीय दलमा लडिरहनु भएको छ । हाम्रो अनुरोध छ यो कदम तपाई, पार्टी  र देशकै लागि आत्मघाती हुनेछ ।

५, आज पार्टी निरीह बनेको छ । आत्मबल घटेको छ। भलै ठूलो बनेको छ गणितमा तर स्वाभिमान गिरेको छ । प्रत्येक कार्यकर्तालाइ लागेको छ कि हामीले अप्राकृतिक गठबन्धन गर्यौं भनेर । कार्यकर्ताको अनुहारमा खुशी होइन पराजित भाव देखिन्छ । चुनाव जित्नु मात्र बहादुरी होइन, कार्यकर्ताको मन जित्नु बहादुरी हो । यसमा पार्टी नेतृत्व चुकेको छ ।

६, अन्तमा राजनीति केबल अंकगणितले मात्रै चल्ने कुरो होइन । त्यो त जनमतले चल्छ, जनताको भावनाले चल्छ । आम जनताको मनोविज्ञान आज तपाई होइन नयाँ पुस्ता चाहियो भन्दै छ । यदि यसका निम्ति पनि जनमतसंग्रह हुने हो भने नयाँ पुस्ताका पक्षमा ९० प्रतिशत भन्दा बढी मतदान हुनेछ । त्यसैले गणितको खेल मात्रै होइन समयको पदचाप बुझ्नुहोस् भन्ने आग्रह गर्दछु । धृतराष्ट्रले समयको पदचाप नबुझेकाले महाभारत भएको हो ।

७, २०१५ सालमा वीपी कोइरालाको नेतृत्वमा कांग्रेसको संसदमा दुई तिहाइ आएको हो । त्यो बेला वीपीको उमेर जम्मा ४५ वर्षको थियो । त्यही सरकारले गरेका राम्रा काम भजाएर हामी आजसम्म बाचिरहेका छैनौं र ? यो इतिहास त तपाईलाई थाहै होला किनकि उनै वीपीले तपाईलाई अगाडि बढने मार्ग प्रशस्त गर्नुभएको थियो । आज गगन थापा ४७ वर्षको हुँदा र संसदीय अभ्यासको अत्यन्तै अनुभवी हुँदा पनि तपाईले विरोधी झैँ सोच्नुपर्ने किन ? बरु एक कदम अगाडि सरेर सारा दुनियाँलाइ छक्कै पार्ने गरी गिरिजाबाबुले आफूलाई छोडे झैँ युवा पुस्तालाई जिताइदिनुस् । तपाई कांग्रेसको इतिहासमा कालजयी बन्नुहुनेछ। सदैब स्मरणीय बन्नुहुनेछ।

जय नेपाल ।

भिम बडुवाल
नेपाली कांग्रेस उपसभापति 
कैलाली जिल्ला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ