arrow

रामचन्द्र दाइ अर्को पटक चुनाव लड्ने अवस्था रहला नरहला अहिले नै प्रधानमन्त्री बनाउन लाग्नुपर्छ – भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
shankar-bhandari-tanahu-congress.jpg

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभामा निर्वाचित शंकर भण्डारीले प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले पनि त्याग गर्न सक्नु पर्ने बताएका छन् ।

सभापति देउवालाई पटक—पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको हुँदा यस पटक त्यागको भावना लिनुपर्ने भण्डारीको भनाइ छ । उनले नेपाली कांग्रेस तनहुँको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा सो धारणा राखेका हुन् । 

त्यस्तै भण्डारीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने प्रयासमा सबै लाग्नु पर्ने बताए । ‘रामचन्द्र दाइलाई प्रधानमन्त्री बनाउन मैले के कति पहल गर्नुपर्छ त्यसको लागि तयार छु , त्यसका लागि काठमाडौं जाँदैछु’, केन्द्रीय सदस्य भण्डारीले भने, ‘रामचन्द्र दाइ अर्को पटक चुनाव लड्ने अवस्था रहला नरहला, अहिले नै प्रधानमन्त्री बनाउन लाग्नु पर्छ ।’

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँमा कांग्रेसले हासिल गरेको नतिजाले सिंगो पार्टीको शिर उचो बनाएको भन्दै भण्डारीले आफूहरुलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवादसमेत दिए । 

त्यस्तै पार्टीमा काम गर्ने सबैको उच्च मूल्याङकन हुनुपर्नेसमेत उनको भनाई थियो । बैठकमा गण्डकी प्रदेश सदस्य अशोककुमार श्रेष्ठले जनताको भावना अनुरुप काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेको सभापतित्वमा भएको बैठकमा सम्पन्न निर्वाचनका विषयमा व्यापक छलफल भएको थियो । 

बैठकमा संविधान सभा सदस्य रामचन्द्र पोखरेल , प्रदेश मन्त्री डोवाटे विक, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी, क्षेत्र नं २ का क्षेत्रीय सभापति चुडामणि खनाल, प्रदेश सदस्य लक्ष्मी आचार्य, प्रदेश आमन्त्रित सदस्य डा।शेषरमण न्यौपाने, जिल्ला सदस्यहरु डम्बरबहादुर अधिकारी, सूर्यभक्त भण्डारी, इनकन खनाल, व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, बन्दीपुर गाउँ कार्यसमिति सभापति कर्ण खत्री, आँबुखैरेनी गाउँ कार्यसमिति सभापति विष्णु पन्त लगायतले धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ