arrow

कर्णालीबाट प्रतिनिधि सभामा गोमा र कुन्तीको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
kunti-shai1.jpg

कर्णाली । कर्णालीमा प्रतिनिधि सभाका १२ क्षेत्रमध्ये दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जुम्लाबाट नेकपा (माओवादी केन्द्र)का गोमा गौतम कुँवर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट दैलेख १ बाट कुन्ती शाही उम्मेदवार बनेकी हुन् । दुवै जना तत्कालीन संविधानसभामा समानुपातिक सभासद थिए।  

कुँवरको प्रतिस्पर्धा नेकपा (एमाले)का रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग हुँदैछ । जुम्लाको तातोपानी गाउँपालिका–४ मा जन्मएकी कुँवर तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा सहभागी हुँदै राजनीतिमा प्रवेश गरेकी हुन् । पशुपक्षी विकास राज्यमन्त्री भइसकेकी उनले गठबन्धनको सहयोगमा आफूले चुनाव जित्ने बताइन् । “प्रत्यक्ष चुनाव लड्न पाउनु खुसीसँगै चुनौती पनि हो। महिलाले जित्न सक्दैनन् भन्ने भ्रम छ, त्यसलाई तोड्न सफल हुनेछु ।”

शाही हाल राप्रपाको केन्द्रीय महामन्त्री हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घको अध्यक्ष हुँदा उनी उपाध्यक्ष थिइन्। विसं २०७४ मा छ महिना स्थानीय विकास र तीन महिना सहरी विकास राज्यमन्त्री बनिन् । 

दैलेखी जनताले नयाँ अनुहार खोजेकाले आफ्नो उम्मेदवारी परेको बताउँदै उनले भनिन्, “लामो समयदेखि उही अनुहार दोहोरिने गरेको अवस्था छ, त्यसलाई यसपटक दैलेखी जनताले तोड्ने विश्वास लिएकी छु ।” उनीसँग सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा हुँदैछ ।

सत्ता गठबन्धन दल र एमालेले कर्णाली प्रदेशसभाका २४ क्षेत्रमा प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई टिकट दिएनन् । विसं २०७४ को निर्वाचनबाट कर्णाली प्रदेशसभामा १३ महिला सदस्य थिइन्। उनहरु सबै समानुपातिक निर्वाचन प्रणालीबाट चुनिनुभएको हो । प्रत्यक्षतर्फ शून्य उम्मेदवारी हुँदा यसपटक पनि समानुपातिकबाट प्रदेशसभामा महिला प्रतिनिधित्व हुनेछ । प्रतिनिधि सभा र प्रदेशसभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक बाध्यता रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ