arrow

मधेसमा एमालेको सिट संख्या नबढ्ने, मत बढ्ने सर्वेक्षण, लोसपासँगको सहकार्यले पनि पार नलाग्ने निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १६ आइतबार
uml-cpn.jpg

काठमाडौं । मधेसमा एमालेले आफ्नो शक्ति केन्द्रीत गरे पनि अपेक्षाकृत सफलता हासिल नगर्ने अवस्थामा पुगेको छ । एमालेको आन्तरिक शक्ति परीक्षणको क्रममा गरिएको सर्वेक्षणले एमालेलाई मधेसमा पहिलाको भन्दा मत बढ्ने देखाए पनि सिट संख्या थप गर्ने विषयमा कुनै योगदान नगर्ने अवस्था देखिएको स्रोतको दाबी छ । 

नेकपा एमालेले तत्काललाई र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग सहकार्य गर्दा पनि अपेक्षाकृत सफलता हासिल नगर्ने अवस्था सिर्जना भएकाले सहकार्यमा मौन बसेको स्रोतको दाबी छ । 

मधेसका ३२ वटै सिटमा पाँच दलीय गठबन्धन नै बलियो देखिएपछि यी दुई पार्टी बीचको तालमेल अप्ठेरोमा परेको भए पनि जसपाको निर्णयले भने केही सहज बनाइदिएको छ । 

एमाले स्थायी समितिका एक मधेसी नेताका अनुसार लोसपाका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोले चुनावी तालमेल चाँडै टुंग्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरिरहे पनि जसपा पनि एमालेसँग सहकार्य गर्ने अवस्थामा पुगेकाले लोसपालाई एमालेले अल्मल्याएको छ ।

 ‘एमालेका नेताहरूले मधेसमा प्रतिनिधि सभाका ३२ वटै क्षेत्रमा एमाले र लोसपाको भोट जोडेर विश्लेषण गरेका थिए, तर एमालेको मत पहिलाको भन्दा बढ्ने देखिए पनि सिट संख्यामा खास योगदान देखिँदैन, जसपाको पछिल्लो निर्णयले एमालेलाई केही फाइदा पुग्न सक्छ’, एमालेका एक सचिवालय सदस्यले भने । 

जसपा नबाहिरिने हो भने सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको भोट एकातिर र एमाले र लोसपाको भोट अर्कातिर जोडेर हेर्दा मधेसका ३२ वटै क्षेत्रमा सत्ता गठबन्धन नै अगाडि देखिएको थियो । 

तर जसपा बाहिरिने अवस्थामा एमाले र लोसपा बलियो हुने एमाले नेताहरुको भनाइ छ । ३२ वटामध्ये एउटा क्षेत्रमा पनि एमाले बलियो देखिएको छैन । यद्यपि मत भने बढ्ने सर्वेक्षणले देखाएको छ ।

‘जसपा गठबन्धनबाट बाहिरिने र लोसपासँग गठबन्धन गर्दा पनि एमालेका लागि फाइदा हुने देखिएको छ’, एमालेका एक नेताले भने । लोसपाले मधेस प्रदेशका ३२ मध्ये कम्तीमा आधा सिट एमालेसँग मागेको छ । तर एमाले यसमा मौन देखिएको मात्र होइन लोसपाकै नेताहरुलाई पार्टीमा भित्राइरहेको छ । 

साथै त्यसरी गठबन्धन गर्दा पनि चुनाव नजितिने अवस्थामा तालमेल गर्दाको अवस्थामा एमालेका लागि घाटा हुने अवस्था आउने भएकाले एमालेले लोसपालाई पर्ख र हेरको नीतिमा राखेको छ ।

 ‘दुई पार्टीको भोट जोड्दा पनि नजितिने अवस्थामा लोसपासँग गठबन्धन गर्नु भन्दा बरु एमाले एक्लैले ३२ वटै क्षेत्रमा उम्मेदवारी दिँदा संगठन त बलियो बनाउन सकिन्छ, उम्मेदवारले मत माग्छन् भन्ने छ’, एमालेका एक सचिवालय सदस्यले भने ।  

कांग्रेस, माओवादी र जसपा तालमेल हुँदा मधेसका सबै सिटमा गठबन्धनका उम्मेदवार बलियो अवस्थामा जित नजिक हुनेछन् । तर जसपा बाहिरिएपछि कांग्रेस र माओवादीका लागि निकै कठिन अवस्था देखिएको छ । कांग्रेसभित्रको आन्तरिक विवादले जसपालाई बाहिर राख्न मद्धत गरेको गठबन्धनवादी दलहरुले आरोप लगाएका बेला एमालेले भने यसलाई सकारात्मक कदम भनेको छ । 

शुरुमा सत्ता गठबन्धनमा सहभागी भएर चुनावमा पनि केही सिट लिएर तालमेल गर्ने प्रयासमा रहेका लोसपाका नेताहरू त्यो सफल हुन नसकेपछि एमालेतिर आकर्षित हुँदा पनि लोसपा यतिबेला दोबाटोमै छ ।  

उनीहरूले बारम्बार चुनावी तालमेल टुंग्याउन आग्रह गरे पनि एमाले अध्यक्ष ओली मौन देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ