arrow

बेरोजगारमाथि ठगी

एमाले नेतृत्वका विश्वासपात्र उद्योगमन्त्रीका सचिवालय सदस्य ठगीमा संलग्न

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै सात जना युवाहरु बिचल्लीमा

logo
शंकर अर्याल,
प्रकाशित २०८१ जेठ ३ बिहिबार
krishna-kc-ritesh-manpower.jpg

काठमाडौँ । उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयका सदस्य ठगीमा मुछिएका छन् । उदयपुर सिमेन्टका मेकानिकल इञ्जिनियरसमेत रहेका भण्डारीका सचिवालय सदस्य कृष्णकुमार केसीले वैदेशिक रोजगारसम्बन्धी वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै सात जना युवाहरुलाई बिचल्लीमा पारेका हुन् । 

कृष्णबहादुरका छोरा रितेश केसीले माल्दिभ्स पठाइदिन्छु भनेर ती युवासँग डेढ लाखदेखि साढे ३ लाख रुपैयाँसम्मको दरले पैसा उठाएका थिए । 

सात जना युवाबाट १५ लाख १० हजार रुपैयाँ उठाएका उनले त्यो पैसा भने अर्कै व्यक्तिहरुको खातामा जम्मा गर्न लगाएका थिए ।

त्यसरी पैसा उठाएपछि रितेशले ती आफ्नै बाबुलाई एजेन्टको रुपमा ती युवाहरुसँग परिचय गराएका थिए । कृष्णकुमारले एजेन्टको रुपमा सेटिङ गरेर श्रम स्वीकृतिलगायत काम गराइदिने बताएको एक जना पीडितले बताए ।

समयमा लैजान नसकेपछि रितेशले फोन उठाउन छाडे । रितेशको फोन उठ्न छाडेपछि एजेन्ट भनेर सम्पर्क नम्बर दिइएको व्यक्ति उनकै बाबु भएको पत्ता लागेको पीडितहरु बताउँछन् । 

आफ्नै छोराले रकम गठी गर्दा कृष्णकुमार भने आफूले पैसा नलिएको भन्दै छोराले लिएको फिर्ता गराउन प्रयासरत रहेको बताउँछन् । 

पैसा ठगिएपछि ती पीडितहरुले प्रहरीमा जाहेरी दिएका छन् । जाहेरीका आधारमा प्रहरीले खातामा पैसा जम्मा गर्नेविरुद्ध पक्राउ पुर्जी जारीसमेत गरेको छ । 

तर अहिलेसम्म यी बाबु छोराविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन । राजनीतिक पहुँचका कारण उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी नगरिएको पीडितको आरोप छ । 

केपी ओली र विष्णु पौडेलका विश्वासपात्र हुन् कृष्णकुमार
उद्योगमन्त्रीको ठाडो आदेशमा उदयपुर सिमेन्टबाट मन्त्रीको सचिवालयमा काजमा खटिएका केसी एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलका विश्वासपात्र रहेको बताइन्छ । 

उनीहरुको आशीर्वादबाट उनले एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) को पदाधिकारीसम्म बन्न पुगेका छन् । 

अहिले उनी जीफन्टका सचिव तथा श्रम सम्बन्ध काउन्सिलका सदस्यसमेत हुन् । उद्योग मन्त्रीको सचिवालयमा भित्रिनुअघि उनी उदयपुर सिमेन्टमा मर्मत सम्भार विभागका प्रमुख थिए । 

उदयपुर सिमेन्टले मर्मत सम्भारको ठूलो परियोजना अगाडि बढाउने तयारी गरिरहँदा उनी काजमा मन्त्रालयमा गएका हुन् । 

प्रक्रिया विपरीत काज सरुवा 

अहिले उद्योग मन्त्रीको सचिवालयमा रहेका केसीको काज सरुवा भने अवैध छ । उद्योगमन्त्रीको ठाडो आदेशमा मन्त्रालय आएका उनले काज सरुवाका लागि गर्नुपर्ने प्रक्रियासमेत पूरा नगरेको उद्योग प्रशासन महाशाखाका कर्मचारी बताउँछन् । 

कुनै पनि व्यक्तिको काज सरुवा गर्नुपरेमा मन्त्रालयले उद्योगलाई पत्र लेख्नुपर्छ । उद्योगले काजमा पठाउन उपयुक्त भए मात्रै त्यसरी काज सरुवाको सहमति दिनसक्ने व्यवस्था छ । कम्पनीलाई नै गम्भीर असर गर्नसक्ने भएमा काज सरुवा हुनै सक्दैन । 

मेसिन पुरानो भएर वार्षिक करोडौँको मर्मत गर्दै आएको उदयपुर सिमेन्टले मर्मतसम्भार प्रमुख नै रिक्त हुँदा ठूलो क्षति बेहोरिरहेको छ । 

केसी काजमा गए पनि स्थायी दरबन्दीमा बाहिरबाट कर्मचारी ल्याउन नसकिने भएकाले समस्या भइरहेको कम्पनीका कर्मचारी बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ