- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि आइतबार छलफल हुने भएको छ । प्रतिनिधिसभाको आइतबारका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग छलफलमाथि छलफल हुने भएको संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबारका लागि जारी गरेको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।
यसअघि शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको चर्को विरोध गरेका थिए । उनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता गरेको महाभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका थिए ।
कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गरे ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गरे ।
पास नहुने महाभियोग प्रस्ताव ल्याएर जबरालाई डामेर छाड्न खोजेको भन्दै ओलीले भने, ‘महाभियोग प्रस्ततावको छिनोफानो गर्नुपर्दैन ? महाअभियोग पास नहुने भएपछि डामेर छाड्न मिल्छ ? ६ महिनादेखि अलपत्र छ । छलफल हुन्छ प्रस्ताव अघि बढ्दैन ।’
संसद बैठकमा महाभियोगको प्रस्तावलाई टेबुल नगरे भन्दै सभामुख सापकोटा सरकारको खेलौनाजस्तो भएको ओलीको टिप्पणी छ ।
त्यसकै दबाब स्वरुप हुनसक्छ शनिबार सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा भनिएको छ, ‘मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने ।’
जवराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।
प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरे पनि छलफल अगाडि बढ्न सकेको थिएन । महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन् ।