arrow

सत्ता गठबन्धनसँगै वामबीच छुट्टै मोर्चाको कोसिस, प्रचण्डको जापान भ्रमण सिंगापुरको दौडजस्तै भएको शंका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
prachanda-madhav-jhalanath-bamdev-narayankaji.jpg

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै सरकारमा रहेका वामपन्थी दलहरुले कांग्रेसबाहेकको छुट्टै मोर्चा बनाउने कोसिस गरिरहेका छन् । पाँच दलीय गठबन्धनभित्र रहेका वाम–समाजवादी पार्टीले छुट्टै मोर्चा बनाउने कोसिस गरेका हुन् । 

नेपाली कांग्रेसको मतले निर्वाचन जित्ने दाउमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाबीच छुट्टै मोर्चाको गृहकार्य भइरहेको हो । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने गरी यसको तयारी भएको स्रोतले बताएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणबाट फर्केर आएपछि यसले मूर्त रुप लिने स्रोतको दाबी छ । ‘प्रचण्ड जापान भ्रमणबाट फर्केर आएपछि नयाँ मोर्चा गठन हुनेछ’, स्रोतले भन्यो । 

तर प्रचण्ड जापान किन जाँदैछन् भन्ने बारेमा केही बताइएको छैन । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी जापान जान लागेको बताइए पनि त्यहाँको कार्यक्रम राजनीतिक बाहेक कुटनीतिक पनि हुनसक्ने बताइएको छ । प्रचण्ड शुक्रबार राति जापान जाने कार्यक्रम छ । 

प्रचण्डको राजनीतिक भेटघाटबारे भने केही खुलाइएको छैन । प्रचण्ड हालसालै भारत भ्रमण गरेका थिए । ‘जापान भ्रमण के हो भन्ने बारेमा केही खुलेको छैन, एक पटक नेताहरु सिंगापुर दौडिएका थिए त्यस्तै हो कि भन्ने आशंका छ’, नेकपा माओवादीका एक स्थायी समिति सदस्यले भने ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रकृया अघि बढेको बेला नेपालका शीर्ष तहका नेताहरुले सिंगापुरमा चिनियाँ अधिकारीहरुसँग भेटघाट गरेको सार्वजनिक भएको थियो । 

अहिले पनि भारत भ्रमाणको लगत्तै प्रचण्ड जापान जानुले त्यहाँ कुनै कुटनीतिक कुराकानी त हुँदैछैन ? भन्ने आशंका जन्माएको छ । जापानमा चिनियाँ सरकारी अधिकारीहरुको पनि भ्रमण रहेको छ । त्यही बेला प्रचण्डको भ्रमण हुँदैछ । 

प्रचण्ड जापान भ्रमणबाट आएपछि सत्तामा रहेका वामपन्थी पार्टीहरुले छुट्टै चुनावी मोर्चा बनाउने तयारी गरेका हुन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि प्रगतिशील धारको शक्ति निर्माण गरेर निर्वाचनमा जाने विषयमा छलफल जारी रहेको नेताहरूले बताएका थिए । 

बिहीबार एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।  ‘पाँचदलीय गठबन्धन घोषणा गरेर निर्वाचनमा जान्छौँ । यसबाहेक हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँ । एकीकृत समाजवादी, माओवादी, जसपा र जनमोर्चाबीच मोर्चा बनाएर अघि बढ्न खोजिरहेका छौँ,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो कार्यक्रममा भनेका थिए ।  

संयुक्त शक्तिसहित कांग्रेससँग सिट बाँडफाँडको छिनोफानो गर्ने गरी सो मोर्चा बनाउन लागेका हुन् । माओवादीले यसअघि समाजवादी केन्द्र निर्माणको प्रयास थालेको थियो । उनी जापानबाट फर्केर आएपछि त्यही प्रयासलाई निरन्तरता दिने बताइएको छ । 

शुक्रबारै बसेको पाँच दलीय सत्तारुढ गठबन्धनले चुनावी एकता गरेरै जाने निर्णय गरिसकेको छ । एकातिर कांग्रेससँग पनि बार्गेनिङ र अर्कातिर सत्ताधारी वामको छुट्टै गठबन्धन गरेर कांग्रेसलाई थप चेपुवामा पार्ने योजनामा लागेको आशंका पनि गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ