पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका—१,ख्याहाका वडाध्यक्ष चिरन्जीवी पोखरेलले वडामा कार्यरत कर्मचारीलाई हाजिर हुन दिएका छैनन् ।
पोखरेलले कार्यालयमा कार्यरत कम्प्युटर सहायक, पशु प्राबिधिक तथा कार्यालय सहयोगीलाई हाजिर हुन नदिएका हुन् । जसले गर्दा वडा कार्यालयबाट प्रदान हुने सेवासमेत प्रभावित हुँदा सेवाग्राहीले सास्ती झेल्नु परेको छ ।
वडाध्यक्ष पोखरेलले वडाका तीन जना कर्मचारीहरूलाई हाजिर गर्न नदिएको वडा सदस्य भिमबहादुर रानाले बताए ।
गाउँपालिकाले १० जना करारका कर्मचारीलाई हटाउने निर्णय गरी पदमुक्त गराएसँगै उक्त विषयलाई लिएर वडाध्यक्ष पोखरेलले कर्मचारीहरूलाई हाजिर गर्न नदिएको रानाले बताए ।
सेवाग्राही कौशिला पाण्डे तिरो तिर्न वडा कार्यालयमा दुई पटकसम्म जाँदा काम नभएर फिर्ता हुनुपरेको बताइन् । उनले कहिले वडाध्यक्ष नहुने कहिले सचिव नहुँदा सेवा नपाएको गुनासो गरिन् ।
स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका वडाध्यक्ष पोखरेलले गाउँपालिकाले १० जना करारका कर्मचारीलाई हटाउने निर्णय पुनःविचार नगर्दासम्म हाजिर हुन नदिने बताए ।
उनले हाजिरी रजिस्टर आफूसँग रहेको जानकारी दिए । वडा सचिव बिदामा भएका कारण सचिवबाट हुने काम नभएको अध्यक्ष पोखरेलले बताए ।
अध्यक्ष पोखरेलले भने, ‘६० वर्ष उमेर माथिका पालिकाका कर्मचारीलाई सम्मानसहित बिदा गरियोस् त्यसमा आपत्ति छैन तर तीमध्ये गाउँपालिकाले हटाएका १० कर्मचारीमध्ये ६ जनालाई पुनः पदमा नियुक्ति गरे पश्चात् वडाका कर्मचारीको हाजिरी गराउने बताए ।
कर्मचारी हटाइएको विषयलाई लिएर गाउँपालिकासँग छलफल गर्न खोज्दा बहुमतका आधारमा निर्णय पास गरेको बताए ।
गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले पलिकाले कुनै पनि कर्मचारीलाई हटाएको नभइ तत्कालका लागि म्याद थप नगरेको बताए ।
केहीको उमेर हद पुगेको, दरबन्दी नभएको तथा कार्यबोझका कारण केही कर्मचारीको म्याद थप नभएको अध्यक्ष कार्कीले बताए ।
अध्यक्ष कार्कीले वडाध्यक्षले कर्मचारीलाई हाजिरी हुनबाट रोक्ने काम भएको भए उक्त कार्य अनधिकृत रुपमा वडाध्यक्षले गरेको ठहर्ने बताए ।
उक्त वडामा वडा सचिव बिदामा रहेको कारण सचिव आएपछि समस्या समाधान हुने उनको भनाइ छ ।