कैलालीको १२ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
1k
Shares
सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
धनगढीमा कैलाली जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका अन्य १२ पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश जयानन्द पनेरुले आज कार्यालय शुभारम्भ गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको योगदान हुनुपर्ने बताए ।
स्थापना भएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनसम्बन्धी कार्यतालिका, मतदानस्थल र केन्द्रको सूचीसमेत प्रकाशन हुन लागेको छ । यही वैशाख ११ र १२ गते उम्मेदवारीको मनोनयन दर्ता, सोही दिन उम्मेदवारको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी बारेको प्रक्रिया, १४ र १५ गते उजुरी उपरको छानबिन र जाँच गरी निर्णय गरिने, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने लगायतको निर्वाचन कार्यतालिका छ ।
वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनको तयारी कैलालीसहितका जिल्लामा तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी तीव्र बनाइएको बताए । यस क्रममा निर्वाचनमा खटिने कर्मचारी निर्वाचन अधिकृत लगायतलाई आवश्यक तालिम, प्रशिक्षण जस्ता कार्यक्रम भइरहको उहाँले जानकारी दिए ।
तयारीका क्रममा बुधबार आयोजित राजनीतिक दलहरुसँगको अन्तक्र्रियामा सहभागीले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।निर्वाचनको तयारीको क्रममा सुदूरपश्चिम प्रदेशभरी एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्र स्थापना गरिएको छ, भने आवश्यक निर्वाचन सामग्री पालिका तहमा पुर्याउन सुरु गरिएको छ ।
प्रदेशमा ८८ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल तीन हजार ८४६ प्रतिनधि छनोट गर्न निर्वाचन हुँदैछ । निर्वाचन सम्पन्न गराउन प्रदेशभरि सुरक्षाकर्मी बाहेक चार हजार बढी कर्मचारीको खटनपटन गर्न लागिएको छ । प्रदेशमा १६ लाख ३२ हजार १५० मतादाता रहेका छन् ।