काठमाडौँ । कैलालीमा पछिल्लो केही दिनयता मौसममा देखिएको उतारचढावले पाकेको अन्नबाली नष्ट हुने डरले स्थानीय किसानहरू चिन्तित बनेका छन्। खेतमा गहुँ र मसुरो भित्र्याउने मुख्य समयमै मौसम अस्थिर बनेपछि बाली जोगाउन मुस्किल परेको किसानहरूले बताए।
कैलारी गाउँपालिका–७ का महावीर चौधरीले दुई बिघामा गहुँ र एक बिघामा मसुरो खेती गरेका छन्। गहुँ काटेर घर भित्र्याउने बेला भइसकेको र मसुरो पनि पाक्ने अवस्थामा पुगेका बेला छिनछिनमा हुने मौसम फेरबदलले उनलाई पिरोलेको छ। “केही दिनअघिको हावाहुरी र पानीले बालीमा केही क्षति पुर्याइसकेको छ, अहिले फेरि त्यस्तै स्थिति दोहोरिने डर छ,” उनले भने।
अर्का स्थानीय किसान नन्दराम साउँदले पनि मौसमको कुनै ठेगान नभएकाले पाकेको बाली खेतमै बिग्रिने हो कि भन्ने त्रासमा रहेको सुनाए। कहिले चर्को घाम लाग्ने त कहिले एक्कासि बादल लागेर हावाहुरीसहित वर्षा हुने गरेकाले गहुँबाली ढल्ने र भाँचिने जोखिम बढेको छ।
कैलालीका विभिन्न स्थानमा गहुँ भित्र्याउने चटारो भइरहेका बेला बेमौसमी वर्षा र हुरीले किसानको वर्षभरिको मेहनत खेर जान सक्ने देखिएको छ। स्थिर मौसमको अभावमा बालीको गुणस्तर खस्कने र उत्पादनमा कमी आउने डरले यस क्षेत्रका कृषकहरू यतिबेला निकै तनावमा देखिन्छन्।