विश्वकै ठूलो ढुवानी कम्पनी 'फेड एक्स'को नयाँ सीईओमा भारतका राज सुब्रमण्यम
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
485
Shares
काठमाडौं। विश्वकै ठूलो ढुवानी कम्पनी फेड एक्सको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भारतीय अमेरिकी कर्पोरेट दिग्गज राज सुब्रमण्यम छानिएका छन् ।
कम्पनीले जारी गरेको आधिकारीक सुचना अनुसार सन् २०२२ को जुनदेखि फ्रेडरिक डब्ल्यू स्मिथलाई प्रतिस्थापना गर्दै सुब्रमण्यम सीईओ रहने भएका हुन् ।
९२ अर्ब वार्षिक राजस्व भएको फेड एक्स विश्वको सबैभन्दा ठूलो यातायात एवं ढुवानी कम्पनी हो। नेपालमासमेत फेड एक्सको सेवा रहेको छ ।
निवर्तमान सीईओ स्मिथले सोमबार कम्पनीको सीईओको पदबाट राजीनामा दिने जानकारी दिएका थिए । एक विज्ञप्तिमा उनले सुब्रमण्यमले फेड एक्सलाई धेरै सफल भविष्यमा लैजाने विश्वास व्यक्त गरेका छन् ।
५४ वर्षीय सुब्रमण्यमले तीन दशकअघि सन् १९९१ मा फेड एक्समा काम शुरु गरेका थिए । उनी सन् २०२० मा फेड एक्सको बोर्ड डिरेक्टर भएका थिए ।
मूल रूपमा भारतको त्रिवेन्द्रमका सुब्रमण्यमले केमिकल इन्जिनियरिङ पढ्नको लागि सन् १९८७ मा आईआईटी बम्बे जोइन गरेका थिए ।
सन् १९८९ मा उनले सिराक्यूज विश्वविद्यालयबाट सोही क्षेत्रमा मास्टर डिग्री हासिल गरेका थिए भने अस्टिनको टेक्सास विश्वविद्यालयबाट उनले मार्केटिङ र फाइनान्समा एमबीए डिग्री पनि लिएका थिए ।