चुनावका लागि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, भ्रातृ संगठनको नियुक्तिबारे शेखर समूहले प्रतिवाद गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
822
Shares
तस्बिर– फाइल
काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्न लागेको हो ।
बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुुनेछ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापालाई स्थानीय तहको चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।
कोइराला समूह नेविसंघ र तरुण दल अध्यक्ष मनोनयनप्रति असन्तुष्ट
सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयलाई असन्तुष्ट संस्थापनइतर समूहले प्रतिवाद गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकमा डा. शेखर कोइराला समूहले सभापति देउवाको सो निर्णयमा प्रतिवाद गर्ने भएको हो । ‘सभापतिज्यूलाई विश्वासका साथ सहमतिका आधारमा निर्णय गर्न अधिकार प्रदान गरिएको थियो । तर, उहाँले अधिकारको दूरुपयोग गरेर नेविसंघ र तरुण दलको अध्यक्षमा एकलौटी मनोनित गरिदिनुभयो,’ कांग्रेस नेता रञ्जित कर्णले भने, ‘सभापतिको सो निर्णयमा शेखर समूहबाट आजको बैठकमा प्रतिवाद हुनेछ ।’
सभापति देउवाको सो निर्णय लगत्तै कोइराला समूहले अलग्गै भेला डाकेर असन्तुष्टि प्रकट गरिसकेको छ । गत गत बुधबार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।
पदभार सम्हाल्दै शेर्पा
नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले आज दभार सम्हाल्ने भएका छन् । बिहान ११ बजे पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गर्ने छन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वअध्यक्ष ढुंगानाले अनामनगरस्थित संघको कार्यालयमा पद हस्तान्तरण गर्ने शेर्पाले जानकारी दिए ।
अध्यक्ष शेर्पालाई स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको ३ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ ।