पोखरा । नेपाली कांग्रेस कास्कीको जिल्ला कार्यसमिति सदस्य पदमा सात जना नेताहरु मनोनित भएका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ३ धारा १२ को उपधारा ५ (ख) बमोजिम पार्टी सभापति किशोरदत्त बरालले सात जना नेताहरुलाई जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् ।
सभापति बरालले पार्टी विधानमा उल्लेख भएबमोजिमको अधिकार प्रयोग गरी सदस्य मनोनित गरेको र त्यसलाई शनिबार बसेको पार्टीको पूर्ण बैठकले अनुमोदन गरेको कास्की कांग्रेसका मुख्यसचिव विजयराज अधिकारीले जानकारी दिए ।
जिल्ला सदस्यमा मनोनित हुनेमा पोखरा महानगरपालिका वडा नं. २७ का बाबुराम गिरी, पोखरा-५ का गंगाधर पराजुली, मादी-३ का अर्जुन गुरुङ, पोखरा-१५ का वर्षाकेशव पराजुली छन् ।
यसैगरी मनोनित अन्य सदस्यहरुमा पोखरा-६ का सविना तिमिल्सिना, पोखरा-१० का निर्मला कार्की भण्डारी र पोखरा-२२ का कमला विन्दु बराल रहेका छन् ।
यस्तै, बैठकले घर-घर जाऔं, कांग्रेस जिताऔं अभियानको अनुगमन समिति गठन गरेको छ । समितिमा पार्टी सभापति किशोरदत्त बरालसहित जिल्लाका पदाधिकारीहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, प्रदेशसभा सभापतिहरु, पालिका सभापति र अग्रज नेताहरु रहेका छन् ।