नेपाली कांग्रेसलाई हार्ने छुट छैन : केन्द्रीय सदस्य शिवाकोटी
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
839
Shares
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई कास्की कांग्रेसले स्वागत गरेको छ । कांग्रेसको केन्द्रीय समितिले शिवाकोटीलाई चुनावी अभियानका लागि मुस्ताङ जिल्लामा खटाएको छ । सो अभियानका लागि पोखरा हुँदै मुस्ताङ जान लागेका शिवाकोटीलाई कास्की कांग्रेसले पार्टी कार्यालयमा स्वागत गरेको हो ।
शिवाकोटीलाई पार्टीका उपसभापति युवराज कुँवर, सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाट, सहसचिवद्वय नवीन सिग्देल र शंकर ढुंगाना, कोषाध्यक्ष माइकल कर्माचार्य, प्रेस युनियनका सचिव प्रदीप पौडेल लगायतले स्वागत गरेका थिए ।
एक महिने अवधिमा केन्द्रीय सदस्य शिवाकोटीले मुस्ताङ जिल्लामा कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर चुनावी एजेन्डा प्रचार प्रसार गर्नेछन् ।
सो अवसरमा केन्द्रीय सदस्य शिवाकोटीले आगामी चुनाव कांग्रेसले जित्न आवश्यक रहेको बताए । शिवाकोटीले कम्युनिष्टले बुनेको भ्रम र उत्तेजनाको राजनीति चिर्न पार्टी गाउँ-गाउँ जाँदै गरेको बताए ।
उनले अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा कम्युनिष्टहरुले अफबाह फैलाएकाले त्यसलाई चिर्दै आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी नेताहरु गाउँ-गाउँ जान लागेको स्पष्ट पारे । उनले आशन्न निर्वाचन कांग्रेसलाई हार्ने र नजित्ने छुट नभएको बताए ।
शिवाकोटीले भने, ‘अर्थतन्त्रलाई टाँट पल्टाउने, त्यसपछिको गडबडको अवस्थाको बीचमा नेपालमा कम्युनिष्ट फस्टाउँछ भन्ने एनार्कीको मलजल गर्ने काम कम्युनिष्टहरुले गरिरहेका छन् । यस्तो सन्देश गाउँ गाउँमा लैजानु पर्दछ । यदि ठाउँ ठाउँमा सुसूचित बहस हुन्थ्यो भने आजको दिनमा हामीहरु बीचमा यो खालको भ्रम रहँदैनथ्यो । हामी कम्युनिष्टको भ्रम फैलाउने आइडियोलोजीबाट बढी पीडित भयौं । त्यसकारण अहिले यो अवस्था भइरहेको छ ।’
चिनियाँ ऋणले समस्याउन्मुख भएको टिप्पणी गर्दै उनले भने, ‘हामीले पोखरा विमानस्थल वा भैरहवा विमानस्थल वा टनेलमा हेर्नुस् हामीले ऋणमा लिएर काम गरिरहेका छौं । अन्ततः यस्तो ऋण लिएर काम गर्नु भनेको ऋणको पासोमा पर्नु हो । दोस्रो श्रीलंका बन्नु हो । श्रीलंकाको हबन्टोटा बन्दरगाह आज चीनले आफ्नो झण्डा गाडेर ९९ वर्षका लागि लिइसक्यो । जुन बन्दरगाह चीनले बनाइदियो आज त्यही बन्दरगाह श्रीलंकाले पैसा तिर्न सकेन भनेर चीनले कब्जा गर्यो । आजको दिनमा पोखरा विमानस्थलको वर्षको ५० करोड त ब्याज तिर्नुपर्छ । त्यो साँबा ब्याज तिर्न सकेनौं भने छिमेकीको झण्डा गाडेर उतैको हुन सक्ने अवस्था सिर्जना भएको छ ।’