भ्रामक र झुटा क्याप्सन राखेर युट्युब र टिकटकमा हाले साइबर अपराधको मुद्दा
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
583
Shares
काठमाडौं । सामाजिक सञ्जाल र खासगरी युट्युब र टिकटकमा भ्रामक र झुटा क्याप्सन हालेर भिडियो हाल्नेहरुलाई अब साइबर अपराध अन्तर्गत कारबाही हुने भएको छ ।
प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले यस्ता कार्य गर्नेहरुविरुद्ध साइबर अपराधको मुद्दा चलाउने जानकारी दिएको हो । पछिल्लो समय गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट सामाजिक सञ्जालको दुरुपयोग भएको ब्यूरोले जनाएको छ ।
‘विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवम् झुटा क्याप्सन राखेर भिडिओ तथा तस्वीर अपलोड गर्ने गरेको पाइएको छ ।’
ब्यूरोले भनेको छ, ‘यसबाट समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भाव खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन गर्दै निजको सामाजिक एवं सद्भाव खलल पुर्याउने, गोपनीयताको हक हनन गर्दै निजको समाजिक एवम् मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने प्रवृत्ति देखिएको छ ।’
यस्ता क्रियाकलापहरूमा संलग्न व्यक्ति र समुहलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारबाही हुने भन्दै ब्यूरोले भनेको छ, ‘यस्ता प्रकारका गतिविधि नगर्नु नगराउनु हुन सम्पूर्णमा साइबर ब्यूरो अनुरोध गर्दछ ।’