इस्माको अनियमितता र भ्रष्टाचारविरुद्ध कांग्रेसको प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
472
Shares
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेपाली कांग्रेस इस्मा गाउँपालिकाले विरोध कार्यक्रम गरेको छ । सोमबार गाउँपालिकाको कार्यालय नजिकै रहेको स्वास्थ्य चौकीको हलमा गाउँ सभा चलिरहेकै समयमा नेपाली कांग्रेस इस्मा गाउँपालिकाले सोही हलबाहिर विरोध कार्यक्रम गरेको हो ।
नेपाली कांग्रेस इस्मा गाउँपालिकाको आयोजनामा नेपाली कांग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले नेतृत्व गर्दै क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झबिन्द्र अर्याल, इस्मा गाउँपालिकाका सभापति कृष्ण प्रसाद रिजाल, वडाका सभापतिहरू र प्रतिनिधिमूलक कार्यकर्ताको उपस्थितिमा कोभिड–१९ सङ्क्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गाउँपालिकाले गरेको अनियमितता र भ्रष्टाचारविरुद्ध आफूहरूले कार्यक्रम गरेको नेपाली कांग्रेस इस्मा गाउँपालिकाले जनाएको छ ।
विरोध कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले प्लेकार्डहरू बोक्नुका साथै नारा लगाएर विरोध प्रदर्शन गरेका थिए । कार्यक्रममा सहभागीहरूले इस्मा सरकार सदाचारी बन, लेन्थवर्करको कर्म–एमाले नेताको घरमा, अति भयो सरकार–इस्मामा भ्रष्टाचार, लेन्थवर्कर एमालेको घरमा–इस्मा सरकार अदालतमा, इस्माली जनताको आवाज–स्थानीय सरकार नाजवाफ, इस्माली जनताको आदेश–अघि बढ कांग्रेस, छानबिन समिति र लेखा समितिको प्रतिवेदन सार्वजनिक गर, इस्मा सरकार–खबरदार, भ्रष्टाचारमा कागती–दोषीमा भारती, न्यायिक समिति कहाँ छ–अदालतमा गएको छ लगायतका प्लेकार्ड बोक्दै सोही कुराहरू नारा लगाएका थिए ।
इस्मा गाउँपालिकाका सभापति कृष्ण प्रसाद रिजालले बाध्य भएर विरोध गर्नुपरेको बताएका छन् । गएको वर्ष कूल २२ लाख ५० हजार रुपैयाँको कागती खेती प्रवर्द्धन कार्यक्रममा १२ लाख ५० हजार रुपैयाँ कर्मचारीले अनियमितता गरेको भनेर जनप्रतिनिधिहरूलाई जनप्रतिनिधिले नै उम्काएको इस्मा गाउँपालिकाका सभापति रिजालको आरोप छ । त्यस्तै नेकपा एमालेका स्थानीय नेता मान बहादुर बस्नेतको घरमा लेन्थवर्करलाई काम गर्न गाउँपालिकाले पठाएको विषयमा पनि कांग्रेस इस्माले प्रश्न उठाएको छ । यी यस्तै विषयमा नेपाली कांग्रेस इस्मा गाउँपालिकाले प्रेस विज्ञप्ति निकालेको विषयमा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले गुल्मी जिल्ला अदालतमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झबिन्द्र अर्यालविरुद्ध मुद्दा दायर गरेको विषय र गाउँपालिकाले आफू उम्कन प्रेस विज्ञप्ति जारी गरेको विषयमा गाउँ सभा चलिरहेको समयमा आफूहरूले विरोध प्रदर्शन गरेको इस्मा गाउँपालिकाका सभापति रिजालले जानकारी दिए । यसअघि पनि नेपाली कांग्रेस इस्मा गाउँपालिकाले पटक पटक गाउँपालिकालाई ध्यानाकर्षण गराएको रिजालले बताए । उनले इस्मा गाउँपालिका अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।
त्यस्तै गुल्मीको क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति झबिन्द्र अर्यालले गाउँ सभा चलिरहेको समयमा आफूहरूले विरोध गर्नुको कारण सरकारी तलब भत्ता बुझ्ने लेन्थवर्करहरुलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताको घरमा काम लगाउनु भएको बताए । इस्मा सरकारले नियोजित रूपमा विज्ञप्ति निकालेर आफूहरू उम्कन खोजेको उनको आरोप रहेको छ । इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार लुकाउनको लागि अदालतमा मुद्दा दायर गर्ने समेत काम भएको अर्यालले बताए । आगामी दिनमा कोभिड–१९ सङ्क्रमण व्यापक रूपमा नफैलिएको खण्डमा ठुलो जनसहभागितामा इस्मा गाउँपालिकाको अनियमितता र भ्रष्टाचारविरुद्ध डटेर लड्ने तयारी भइरहेको पनि अर्यालले जानकारी दिए ।
विरोध कार्यक्रम पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले १५ शैय्याको अस्पताल निर्माण गर्दा स्थानीय मान बहादुर बस्नेतको जग्गा पुरिएका कारण लेन्थवर्करले त्यहाँ काम गरेको बताइन् । उनले न्यायिक समितिको कार्यसम्पादन हेर्न आग्रह गर्दै न्याय खोज्नको लागि आफूलाई सार्वजनिक ठाउँमा भ्रष्टाचारी भन्नेहरू विरुद्ध अदालत पुगेको जानकारी दिइन् ।
विरोध कार्यक्रमपछि इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कागती खेती प्रवर्द्धन कार्यक्रमको सम्बन्धमा छानबिन आयोगको प्रतिवेदनमा फेरिस्त भएको बताए । प्रतिवेदन अनुसार कर्मचारीलाई बर्खास्त गरेको र सबै कुरा प्रतिवेदनमा उल्लेख भएको भन्दै गाउँपालिका अध्यक्ष विष्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरेर गएको तर त्यसको जवाफ नआएको बताए ।