काडमाडौं । भारतीय नाकाबन्दीविरुद्ध नेत्रविक्रम चन्द समूहले आह्वान गरेको एक दिने बन्दको देशका अधिकांश स्थानमा प्रभाव परेपनि राजधानीमा खासै प्रभाव परेको छैन । बन्दको असर बढी पूर्वी नेपाल र पश्चिम नेपालमा परेको छ । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि भन्दै बन्द आह्वान गरेको चन्द समूहका कार्यकर्ता आइतबार विहानै देखि सडक र बजारमा निस्किएर यातायातका साधन संचालन गर्न दिएका छैनन् ।
उनीहरुले बजार, कलकारखाना, शैक्षिक संस्थासमेत संचालन गर्न नदिएपछि मधेशी मोर्चाको बन्दको मारमा परेका पूर्वी तराईका बासिन्दा दोहोरो बन्दको मारमा परेका छन् । बन्दले सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, इलाम चल्ने लामो तथा छोटो दूरीका यातायातका साधन चल्न सकेका छैनन् । यस्तै, धरान, इटहरी, बिर्तामोड, धनकुटा, दमकलगायतका मूख्य बजार पनि पूर्ण रुपमा बन्द छन् ।
यस्तै, पश्चिम नेपालको पोखरामा समेत चन्द समूहले बन्द गराएका छन् । पर्यटकीय नगरी पोखराका मुख्य बजारहरु खुलेका छैनन् भने यातायातका साधन चलेका छैनन् । यद्यपि, जर्वरजस्ती बजार बन्द गराउंदै हिड्ने २३ पोखराको विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले उनहिरुलाई पृथ्वीचोक, सृजना चोक र लेखनाथको पाल चोकलगायतका स्थानबाट पक्राउ गरेको हो ।