डडेल्धुरा कांग्रेस विवाद उत्कर्षमा: पार्टी कार्यालयमा धर्ना बसेर आन्दोलन चर्काइने
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
2.4k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराको कांग्रेस विवाद थप चर्किएको छ । जिल्लाका नेताहरुले न्यायका लागि काठमाडौं केन्द्रीत संघर्ष गर्ने जनाएका छन् ।
शनिबार डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्लले पार्टी केन्द्रीय सानेपामा पत्रकार सम्मेलन गर्दै विधानविपरीत बाँडिएको क्रियाशील सदस्यता सच्याएर पुनः अधिवेशन नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । उनले मंसिर १ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा धर्नाको कार्यक्रम शुरु गरिने जानकारी दिए ।
सभापति मल्लले डडेल्धुराका ५२ वटा वडामध्ये ४३ वटा वडामा जिल्लाबाट स्वीकृत क्रियाशील सदस्यता नामावलीमा व्यापक हेरफेर गरिएको आरोप लगाउँदै अवैधानिक तवरमा भएका वडा र पालिका अधिवेशनहरु खारेज गरी नयाँ वैधानिक अधिवेशनको मिति तय गरिदिन गरिएको आग्रहलाई लत्याइएकोमा काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिनु परेको जानकारी दिए ।
सभापति मल्लले शनिबार नै विज्ञप्ति जारी गर्दै यथाशक्य माग सम्बोधन नभए संघर्षका कार्यक्रम जारी राख्ने बताए । ‘क्रियाशील सदस्यता विधिवत रुपमा तल्लो तह वडा, पालिका, प्रदश हुँदै जिल्ला कार्य समितिबाट निर्णयसहित सिफारिस भएका ४ सय ६० सदस्यता खारेज गरिनु र कुनैपनि तहबाट सिफारिस नै नभइ स्वतः ३ सय २१ क्रियाशील सदस्यता थपिनुका साथै यस्ता थुप्रै खालका गम्भीर कमजोरी रहेका छन्’, मल्लद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
‘कांग्रेस जिल्ला कार्य समितिको मिति २०७८ भाद्र २२ गतेको बैठकले क्रियाशील सदस्यता विवाद समाधान नभएसम्म हाललाई वडा अधिवेशन स्थगित गर्ने भनि निर्णय गरेको, मिति २०७८ भाद्र २३ गते पालिका र वडा सभापतिहरुको संयुक्त बैठकले समेत सोही निर्णय अनुमोदन गरेको परिस्थितिमा समेत निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमसँग कुनै समन्वय नै नगरी अज्ञात स्थलबाट सामाजिक संजालमा अधिवेशनको मिति सार्वजनिक गर्नु, सोही अनुसार सम्बन्धित जिल्ला कार्यसमितिका सभापति, पदाधिकारी एवम सदस्यहरुको अनुपस्थितिमा अधिवेशन भएको भनी नाटक गरिनु नेपाली कांग्रेस डडेल्धुराका लागि दुर्भाग्य हो । यस्तो अलोकतान्त्रिक विधिबाट चयन भएको नेतृत्वले कांग्रेसलाई गतिहीन बनाउँछ र थप अस्थिरतातर्फ धकेल्छ भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।
आगामि केन्द्रीय समितिको बैठकले आफ्ना मागहरु सम्बोधन नगरीए मंसिर १ गतेदेखि केन्द्रीय कार्यालयमा धर्ना र आन्दोलनका कार्यक्रम शुरु गरिने समेत उनले जानकारी दिए । जिल्लाले पठाएका क्रियाशील सदस्यहरू ५८०४ मध्ये ४६० विना कारण हटाइएको र समायोजन भएका १०० सहित ४१२ एकपक्षीय रूपमा नयाँ थप गरिए पछि भाद्र २५ गते गरिएको एकलौटी वडा अधिवेशन गरिएपछि डडेल्धुरामा विवाद चर्किएको हो ।