arrow

‘विगतका कमजोरी सच्याउँदै काङ्ग्रेस सुदृढ बनाऔँ’

logo
रासस,
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
shankar-bhandari.jpg
फाइल तस्बिर

दमौली। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शङ्कर भण्डारीले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाली काँग्रेस व्यास नगर समिति वडा नं ६ ले दीपावली, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले काँग्रेस सुदृढ नभएसम्म आम निर्वाचन जित्न नसकिने बताए।

काँग्रेस नेता कार्यकर्ताबिच भावनात्मक एकता नहुँदा गत निर्वाचनमा काँग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको जनाउँदै पूर्व मन्त्री भण्डारीले भने, “मेरा तर्फबाट केही गल्ती भए स्वीकार गर्न म तयार छु, सबैले आ–आफ्नो कमजोरी स्वीकार गरौँ र पार्टीलाई एक ढिक्का बनाऔँ।” पूर्व मन्त्री भण्डारीले नेतृत्वमा रहेका नेताको निर्णयका कारण पनि पार्टीले हार व्यहोर्नुपरेको टिप्पणी गरे।

पार्टीमा केही समस्या रहेकाले समस्याको समाधान नगरेसम्म पार्टी नबन्ने भण्डारीको जिकिर थियो। “कतिपय ठाउँमा एकाङ्की तरिकाले टिकट बाँडियो, केन्द्रीय तहमा रहेका हामीहरूसँग पनि सल्लाह भएन”, उनले भने, “कित्ताकाट नगरी एक भएर अगाडि बढौँ, आगामी चुनाव जितिन्छ।”

पार्टीको १४औँ महाधिवेशनमा तनहुँका रहेका पुराना र युवापुस्ता दुवैलाई मिलाएर लैजानुपर्नेमा जोड दिँदै उनले भने, “अहिले पनि केही नेताले कोठामा बसेर कित्ताकाट गर्ने काम गरिरहेका छन्, तेरो र मेरो मान्छे भनेर विभाजन गर्ने काम भइरहेको छ, त्यस्ता काम बन्द गरौँ।” उनले आम निर्वाचनमा काँग्रेसलाई जिताउन बरु आफू उम्मेदवार नबन्ने घोषणा गरे।

आमन्त्रित केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य ध्रुव वाग्लेले काँग्रेसभित्रको वातावरण दूषित हुँदै गएकाले त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए। काँग्रेसभित्र नीतिभन्दा नेता हाबी हुने प्रवृत्ति मौलाएको जनाउँदै उनले भने, “पार्टीमा नीति ठुलो हो, विचार ठुलो हो नेता होइन, सबैलाई मिलाएर लैजान सक्ने पार्टी नेतृत्व आवश्यक छ।”

नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले निर्वाचनको परिणामलाई बिर्सँदै सद्भावको यात्रा बढाउन सके काँग्रेस एक ढिक्का हुनसक्ने बताए। न्यौपानेले विगतको कमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको बताए। काँग्रेस तनहुँ क्षेत्र नं २ का उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले  काँग्रेसभित्रका मतान्तर बिर्सिएर अगाडि नबढे आगामी स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस पराजय हुने बताए।



लोकप्रिय समाचार
नयाँ