- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काङ्ग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डीला सङ्ग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छिन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेकी हुन् ।उनले भनिन्-‘हाम्रो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन । लोकतन्त्रको मूलभूत मान्यता भनेको स्वतन्त्र न्यायपालिका पनि हो । सर्वोच्च अदालतमा छलफल चलेका विषयमा काँग्रेसले कहिल्यै पनि हस्तक्षेप गर्दैन । यो विषयमा गठबन्धन दलभित्र छिनोफानो गर्नुपर्छ । पार्टीले संस्थागत रूपमा यो विषयमा छलफल गरेको छैन । संसदीय दलमा पनि यो कुरा छलफल भएको छैन । व्यक्तिगत रूपमा भन्दा यो कुरा अदालतबाट टुङ्गो लगाउने वा संसद्बाट टुङ्गो लगाउने हो ? गठबन्धनमा छलफल होस ।’
उनले न्यायपालिका जनताको आत्माको केन्द्रबिन्दु भएको बताइन् । उनले भनिन्,‘न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति पृथकीकरणअनुसार चल्नुपर्छ । हेर्नुहोस्, सबै नेपाली जनताको आस्थाको केन्द्र सर्वोच्च अदालत नै हो । अहिले नेपाली जनतामा निराशा पैदा भएको छ ।’
उनले सर्वोच्च अदालत स्वतन्त्र रहेको सुनाउँदै यसको दायराभित्र हस्तक्षेप गर्न नहुने पनि बताइन् । उनले भनिन्-‘विद्यमान समस्याको निरूपण त्यही क्षेत्रमा, त्यही मातहतमा बसेर खोजी गर्दा राम्रो हुन्छ। हरेक कुरामा राजनीति छिरायो भने राम्रो हुँदैन । सबै पार्टीका नेतागणहरुले मुलुकको निकासको लागि खास गरी उहाँहरू राष्ट्रिय ईस्युको बारेमा एकमत हुनुपर्छ । छिटो गठबन्धन दलभित्र अहिलेको न्यायालयको निकासबारे छलफल हुनुपर्छ । यसको निरूपण सांसदले गर्ने कि न्यायालयले ? भनेर छलफल हुनुपर्छ । यो समस्या यथास्थितिमा यथावत् राख्दा ठुलो सङ्कट आउँदै छ भनेर विज्ञहरू भनिरहेका छन् ।’
सांसद सङ्ग्रौलाले जनताको आवाज बुलन्द पार्ने थलो संसद्को अधिवेशन भएको बताइन् । उनले भनिन्-‘जनताका यावत समस्या छन्, त्यसको बारेमा हामीले आफ्ना कुरा राख्न पाएनौँ । संसद् प्रतिपक्षीको हो । समाधानको लागि सभामुखले पहल पनि गर्नुभयो । समाधानको उपाय खोज्नुभयो । तर, प्रतिपक्षले विरोध गरिरह्यो । जनताका मुख बन्द भए । हाम्रा आवाज बन्द भए । हामीले केही नबोली यो संसद् अधिवेशन अन्त्य भयो ।’ उनले देशभरि हालै आएको बेमौसमी वर्षाको कारण किसानहरू ठुलो मारमा परेको र अरबौँको बाली÷नाली क्षति भएको उल्लेख गर्दै उनीहरूलाई मलहम लगाउनेसरि सरकारले ५ अर्ब राहत दिने निर्णय गरेकोमा स्वागत गरिन् ।
नेकपा (एमाले) का नेता तथा सांसद कृष्णभक्त पोखरेलले समग्र न्यायापालिकाभित्र देखिएको विृकित र विसङ्गति हटाउनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘हामी त समग्र न्यायपालिकाको सुधारको पक्षमा छौँ ।’
आफ्नो पार्टीले अहिले वाचडगको रूपमा हेरिरहेको पनि सुनाए । उनले भने,‘नेकपा एमालेले वाचडगको रूपमा हेरिरहेको छ । माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गरौँ । त्यसमा कहाँ कानून बनाउनुपर्छ हामी तयार छौँ ।’
उनले सत्तापक्षले संसद्लाई आफ्नो स्वार्थअनुसार चलाएको पनि टिप्पणी गरे । उनले भने,‘संसद् बस्छ, अमुक पार्टीलाई फुटाउनको लागि स्थापना हुन्छ। अनि सबै पार्टी फुटाएपछि फेरि बोलाइन्छ । लोकतन्त्रमा पार्टी बलियो हुनुपर्छ । अध्यादेश ल्याएर पार्टी विभाजन गर्नु गलत हो । अहिले संसद्को अधिवेशन अन्त्य गरिएको छ। कुनै पनि संसद्को बैठक कार्य व्यवस्था परामर्श समितिको बैठकको सहमतिअनुसार चल्नुपर्ने हो, तर परामर्श समितिको बैठक बसेन । पेलेर जाने हिसाबले संसद् चल्न थाल्यो । यो गलत हो ।’