माधव नेपालको चुनाववाणीः ‘कांग्रेस पहिलो, एस दोश्रो, माओवादी तेश्रो, ओलीको एमाले पत्तासाप’
हरि पन्त,
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
1.6k
Shares
पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनपछि नेकपा एमालेलाई बत्ती बालेर खोज्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाँच दलीय गठवन्धन कायम राखेर निर्वाचनमा जाने र त्यो चुनावमा जनताले एमाले र केपी ओलीलाई पत्तासाप बनाइदिने दाबी गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो, एस दोश्रो र माओवादी तेश्रो पार्टी बन्ने भविष्यवाणी गरे ।
उनले भने, ‘मैले अहिले नै भविष्यवाणी गरें, आगामी चुनावमा कांग्रेस पहिलो, एस दोश्रो, माओवादी तेश्रो पार्टी भएर आउँछ । ओलीको एमाले पत्तासाप हुन्छ, बत्ति बालेर खोज्नुपर्ने अवस्था आउँछ ।’
अध्यक्ष नेपालले अब कुनै पनि हालतमा एमालेसंग मिल्न नसक्ने भन्दै नेकपा एसलाई नयाँ ढंगले अघि बढाउन खोजिरहेको बताए ।
आफू निकटका १० जना नेताहरु एमालेमै फर्किएकोप्रति अध्यक्ष नेपालले ती नेताहरुमा निष्ठा, धैर्यता, दूरदर्शिता, इमान्दारिता, सहनशीलता नभएकाले समस्या आएको टिप्पणी गरे ।
एमालेमा उनीहरुको अवस्था बेहाल हुने उनले दावी गरे । उनले भने, ‘केपीका भक्तहरु अघि बढ्न सक्लान्, अरुको अवस्था बेहाल हुने निश्चित छ ।’
एमालेमा फर्किएका आफू निकट १० नेतालाई एसमा ठाउँ नभएको पनि अध्यक्ष नेपालले संकेत गरे । उनले भने, ‘रेल छुटिसक्यो, रोक्न मिल्दैन । अब फेरि फर्किएर आउँदा लैजाउँला ।’
सर्वोच्च अदालतको विवादका सम्बन्धमा अध्यक्ष नेपालले अदालतको विवाद केपी ओलीका कारण सृजना भएको आरोप लगाए ।
उनले भने, ‘अदालतले केपी ओलीको निरंकुश कदका विरुद्ध दृढतापूर्वक उभिएर ऐतिहासिक फैसला गर्यो, त्यो सह्रानीय कदम भएको भन्दै यसमा केपी ओलीबाहेक कसैले विरोध गरेका छैनन् ।’
केपी ओलीको काम नै सिस्टम भत्काउने र ओली सिस्टम लगाउने भएको भन्दै नेपालले ओपीले न्यायाधीश, पत्रकार सबैको हुर्मत लिने काम गरेको आरोप लगाए ।
अध्यक्ष नेपालले निर्वाचनहरु नजिकिंदै गएकाले पार्टी काममा सक्रियतापूर्वक लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
अहिले जिम्मेवारी पाएका नेताहरुको मूल्यांकन तीन महिनाभित्र हुने भन्दै उनले काम नगर्ने नेताहरुको जिम्मेवारी तीन महिनापछि खोसिन सक्ने चेतावनी दिए ।
पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यादुनाथ बञ्जराले गरेका थिए ।