arrow

कांग्रेस पदाधिकारी बैठक बस्दैः महाधिवेशनबारे छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
congress-14th-general-convention.jpg

काठमाडौं । १४औं महाधिवेशनबारे छलफल गर्न आज मंगलबार ३ बजे कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले हिजो सोमबार बैठक बसेर अधिकांश अधिवेशनका मितिहरु प्र्रभावित भइसकेको भन्दै निर्धारित मितिमा महाधिवेशन गर्न नसक्ने निर्णय गरेको थियो ।

बैठकको निणर्यबारे पार्टीका पदाधिकारीलाई जानकारी गराउने भन्दै निर्वाचन समितिले मुख्य सचिव कृष्णप्रसाद पौडेललाई आग्रह गरेपछि आजका लागि पदाधिकारी र निर्वाचन समितिको संयुक्त बैठक राखिएको हो ।

समितिका संयोजक महादेवप्रसाद यादवले अब कुनै पनि हालतमा मंसिरका लागि तोकिएको मितिमा महाधिवेशन गर्न सक्ने अवस्था नरहेको जानकारी दिए । ‘अब मंसिरमा तोकिएको मितिमा महाधिवेशन गर्न सकिंदैन, यो हाम्रो निश्कर्ष हो, नयाँ मिति कहिलेलाई तोकिन्छ, पदाधिकारीसँग छलफल गर्छौं,’यादवले हाम्राकुरासँग भने ।

कांग्रेसले हालसम्म ७७ जिल्ला मध्ये ६४ जिल्लामा मात्रै वडा अधिवेशन गरेको छ । बाँकी १३ जिल्लामा अझै पनि वडा अधिवेशन शुरु हुने वातावरण बनेको छैन ।

निर्वाचन समितिले भने तिहार अघि नै ति जिल्लामा वडा अधिवेशन गर्न पदाधिकारीलाई आग्रह गर्ने बताइएको छ । तर कांग्रेस नेताहरु भने छठपछि मात्रै बाँकी वडा अधिवेशन गर्ने मनस्थितिमा छन् । यो विषयमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतलेसमेत मुख खोलिसकेका छन् ।

प्रदेश नम्बर २ का ८ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन् । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ ।

कांग्रेसले गत ३० साउनमा ल्याएको कार्यतालिका अनुसार ९ देखि १३ मंसिरसम्म १४औं महाधिवेशन तोकेको छ । पछिल्लो पटक निर्धारित कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ-नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म हुने उल्लेख छ । यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ ।

निर्वाचन समितिले केही हिमाली जिल्लामा भने जिल्ला अधिवेशनसमेत सकाएको छ । कांग्रेसले २१ हिमाली जिल्लामा भने कार्यतालिकालाई नघाएर भए पनि जिल्ला अधिवेशन शुरु गरेको थियो । २१ हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने भनिए पनि १३ जिल्लामा मात्रै सकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ