पार्टी संगठन र अधिवेशनमा पैसाको प्रभाव पर्न थाल्यो : सिटौला
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
726
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी संगठन भित्र पैसाको प्रभाव पर्न थालेको बताएका छन् । वीपी संग्राहलय सुन्दरीजलमा दशैं, तिहार तथा छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले पार्टीको अधिवेशनमा पैसाको प्रभाव पर्न थालेको बताएका हुन् ।
पार्टीको १४औं महाधिवेशनका क्रममा केही स्थानमा सम्पन्न भएका अधिवेशनका गतिविधि हेर्दा पार्टीका धेरै नेता कार्यकर्ता धनीमनी भइसकेको र कतैकतै अधिवेशनमा पैसाको प्रभाव परेको सिटौलाले भनेका हुन् ।
‘महाधिवेशनका क्रममा केही स्थानमा सम्पन्न भएका अधिवेशनका गतिविधि हेर्दा पार्टीका धेरै नेता कार्यकर्ता धनीमनी भइसकेको र कतैकतै अधिवेशनमा पैसाको प्रभाव परेको देखिएको छ, त्यस्ता कार्यले समाज बन्दैन, पार्टी बन्दैन, मेरो प्रष्ट मुल्यांकन छ, सैद्धान्तिक धार, नीतिगत धार, बैचारिक धार र संघर्षको धारलाई त्यस्ता गतिविधिले किल गर्ने खतरा रहेको छ,’ सिटौलाले भने ।
उनले १४औं महाधिवेशनका क्रममा धेरैजसो जिल्लामा वडा तथा पालिका तहको अधिवेशन सम्पन्न भइसकेको र केही हिमाली जिल्लामा जिल्ला अधिवेशनसमेत भइसकेको बताए । राजनीति गर्ने व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर समाजको स्वार्थका लागि काम गर्नु पर्ने भन्दै सिटौलाले वीपि, गणेशमान र कृष्णप्रसाद भट्टराईको चिन्तनधारा सोही किसिमको रहेको बताए ।
‘राजनीतिले देशको अगुवाइ गर्छ, अगुवाइ गर्ने मान्छेहरु नै गलत बाटोमा लागे भने सिंगो देश गलत बाटोमा जान्छ, देशले दुख पाउँछ, जनताले दुख पाउँछन्, राजनीति गर्ने व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर समाजको स्वार्थका लागि काम गर्नु पर्छ,’ सिटौलाले अघि भने ।
सिटौलाले विजयादशमीले समाजलाई असल बाटोमा हिडाउन र समाजप्रति समर्पित हुने भावना सबैमा जागृत गर्न सकोस भन्दै शुभकामनासमेत दिए । कार्यक्रममा कांग्रेसको महाधिवेशन अन्तर्गत सो क्षेत्रबाट नगरमा निर्वाचित पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।