निष्ठाको राजनीति गरेका मन्त्री हमाल विवादमा तानिएपछि राजीनामा दिने मुडमा
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
392
Shares
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । गत शुक्रबार मात्रै मन्त्री नियुक्त भएका हमालको नाम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएर आएपछि निष्ठाको राजनीति गर्ने भन्दै राजीनामा दिने बताएका हुन् ।
साढे चार दशक नेपाली कांग्रेसको कार्यकर्ता भएर पार्टीमा योगदान दिएका व्यक्तिलाई अनावश्यक रुपमा प्रधानन्यायाधीश जबराका जेठान भएकैले मन्त्री बनेको भन्ने आरोप लागेपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने मिडियासँग बताएका छन् ।
उनले मिडियासँग भने, ‘४५ वर्ष कांग्रेसमा योगदान पुर्याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो । आजै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउँछु ।’
प्रधानन्यायाधीश र हमालको नियुक्तिसँग कुनै साइने नभएको भन्दै सर्वोच्च अदालत, र सत्ता गठबन्धन दलका नेताहरु लगायतले उनको नियुक्तिबारे खण्डन गरिरहे पनि निरन्तर आलोचना भइरहँदा चित्त दुखेर हमालले राजीनामा दिन लागेका हुन् ।
यसबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवाद गर्नु कुनै तुक नभएको समेत बताइसकेका छन् । तर कांग्रेसको बर्दिया जिल्ला सभापति भइसकेका हमाललाई ‘प्रधानन्यायाधीशको कोटामा’ मन्त्री बनेको भनेसँगै चित्त दुखेको हो ।
हाल भने उनी सांसद छैनन् । गैरसांसद मन्त्री बनेपछि भने उनीमाथि आशंका जन्मिएको हो । यद्यपि उनी संविधानअनुसार छ महिनासम्म मन्त्री बन्न पाउँछन् ।