arrow

नेपाल भित्रिनेको सङ्ख्या बढेसँगै सीमामा फेरि सुरु भयो कडाइ

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ असोज २१ बिहिबार
gaurifanta-naka.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण उच्च बिन्दुमै रहेका बेला चाडपर्वको चहलपहल बढ्दै गएको छ । खास गरी दसैँ सुरुभएसँगै भारतबाट नेपाल भित्रिने नागरिकको सङ्ख्या बढेको हो ।

यसबिच सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयहरूले सीमामा कडाइका साथ सतर्कता अपनाउन सुरु गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी(सिडिओ) रामप्रसाद पाण्डेले सीमामा कडाइका साथ स्वास्थ्य चेकजाँच, परीक्षण र खोप लगाउन थालिएको बताएका छन् ।

भारतबाट नेपाल भित्रिनेका लागि सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको कञ्चनपुरसँगै कैलाली जिल्ला प्रशासन कार्यालयले पनि नाकामा कडाइ थालेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कैलालीको मुख्य नाका गौरीफण्टामा कडाइका साथ एन्टीजिन परीक्षण गर्न थालिएको बताएका छन् ।

कञ्चनपुर र कैलाली दुवै जिल्लाबाट दैनिक एक एक हजारको हाराहारीमा नागरिकहरू नेपाल भित्रिरहेका छन् । उनीहरूमध्ये २ देखि ३ सय जनाको एन्टीजिन परीक्षण भइरहेको सिडिओहरूले बताए ।

शङ्कास्पद एवं लक्षण देखिएकाहरूको एन्टीजिन परीक्षण गरे पनि खासै सङ्क्रमण नदेखिएका कञ्चनपुरका सिडिओ पाण्डेले बताए । हप्ता दिनमा एक दुई जनालाई सङ्क्रमण देखिरहेको उनले बताए । 

यस्तै कैलाली नाकामा पनि दुई दिनअघि मात्र दुई जनामा एन्टीजिन पोजेटिभ देखिएको कैलालीका सिडिओ रिजालले बताए । 

पोजेटिभ देखिएकाहरूलाई आइसोलेसन सेन्टरमा राख्ने र स्वास्थ्य कार्यालयसँग समन्वय गरेर उपचारको व्यवस्था गर्ने लगायतको सम्पूर्ण तयारी गरिएको उनीहरूले बताएका छन् ।

यस्तै भारतबाट आउने नागरिक नठगिउन् भनेर सीमा क्षेत्रमा भारततर्फ पनि समन्वय गरिएको कञ्चनपुरका सिडिओ पाण्डेले बताएका छन् ।

चाडपर्व नजिकिएसँगै भारतबाट भित्रिनेहरूको सङ्ख्या बढ्दै जाँदा  कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले बताएका छन् ।

त्रिनगर सीमा नाका (कैलाली)मा सञ्चालित हेल्थ डेस्कका अहेब गणेश साउदले पछिल्ला दिनमा भारतबाट घर फर्किने नेपालीको भीड बढेको बताएका छन् । नेपाल भित्रिनेको सङ्ख्या बढ्दा लामबद्ध गराएर नमुना परीक्षण गराउन असहज भइरहेको समेत उनको भनाइ छ ।

सुदूरपश्चिमका बासिन्दाको रोजगारीको मुख्य गन्तव्य स्थल भारत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ