arrow

कोरोना महामारी

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दो: एक सातामा १६ जनामा पुष्टि, किट अभावले परीक्षणमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
corona-virus-covid-19.jpg

कञ्चनपुर । सुदूरपश्चिममा भारतबाट फर्किएका व्यक्तिहरूमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढेको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार, पछिल्लो एक सातामा मात्रै १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। कैलालीको त्रिनगर र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरूमा दैनिक सङ्क्रमण देखिन थालेको छ।

किट अभावले परीक्षणमा चुनौती
नाकाहरूमा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त किटको अभावका कारण सङ्क्रमितहरूको पूर्ण रूपमा परीक्षण हुन सकेको छैन। मंगलबार पनि भारतबाट आएका थप दुई जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये एक-एक जना गौरीफन्टा र झुलाघाट नाकामा भेटिएका हुन्। निर्देशनालयका अनुसार, सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएकामध्ये १४ जनाको परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो।

भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको गड्डाचौकी नाकामा पनि अवस्था चिन्ताजनक छ। यही नाका भएर नेपाल-भारत मैत्री बसहरू सञ्चालन भए पनि किट अभावका कारण यात्रुहरूको स्वास्थ्य परीक्षण हुन सकेको छैन। त्रिनगर नाकामा सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्ति दिल्लीबाट घर फर्किएका थिए, जसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। विभागले २०० किट पठाए पनि हाल प्रदेशमा ३७० वटा मात्र किट उपलब्ध छन्, जुन पर्याप्त मानिएको छैन।

स्थानीय र स्वास्थ्यकर्मीको चिन्ता
कञ्चनपुरको गड्डाचौकी नाकामा मंगलबार १०० किट उपलब्ध भएपछि परीक्षण सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले उपलब्ध किट पर्याप्त नभएकाले हाल लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्ने व्यवस्था मिलाइएको बताए। मंगलबार गड्डाचौकी नाकामा सात जनाको परीक्षण गरिएको थियो।

गड्डाचौकी हेल्थ डेस्कका प्रमुख विशाल भट्टले भारतबाट फर्किएकाहरूलाई कडाइ गरिए पनि किटको अभावले परीक्षण गर्न नसकिएको बताए। "शंकास्पद देखिएकालाई एक हप्ता घरपरिवारका सदस्यबाट टाढा बस्न सम्झाइबुझाइ पठाउने गरेका छौँ," उनले भने।

स्थानीयहरूले विगतका वर्षहरूमा समयमा नाकामा कडाइ गर्न नसक्दा सङ्क्रमण फैलिएको भन्दै सरकारले नाकामा कडाइ गर्नुपर्ने माग गरेका छन्। स्थानीय पदम थापाले गड्डाचौकी नाकाबाट आउनेहरूको कोभिड परीक्षण हुन नसकेको र यात्रुहरू हेल्थ डेस्कमा नगएको तथा सुरक्षाकर्मीले पनि नरोकेको बताए। उनले भारतबाट आउने जीप, कार, र बसहरूलाई नाकामा रोकेर हेल्थ डेस्कमा जाँच गराउन प्रशासनले पहल गर्नुपर्नेमा जोड दिए।

कोरोना महामारीपछि सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट, र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ