भारतीय जनता पार्टीको निमन्त्रणामा कांग्रेस नेताहरु विहीबार भारत भ्रमणमा जाने
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
2.7k
Shares
काठमाडौं । नेपाली कांग्रेसको एक प्रतिनिधिमण्डल विहीबार भारत भ्रमणमा जाने भएको छ । सरकारसँगको सम्बन्धलाई सुमधुर बनाउन प्रतिनिधिमण्डल भारत जान लागेको हो ।
सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो । भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको नियन्त्रणमा जाने लागेको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरु उदयशमशेर जबरा र अजय चौरसिया समेत रहेका छन् ।
भारत भ्रमणको क्रममा भारतीय जनता पार्टी र सरकारका पनि उच्च पदस्थ अधिकारीहरुसँग भेटगरी दुई पार्टी बीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको पनि सम्बन्ध विकासमा सघाउ पुर्याउने गरी आफूहरु भारत भ्रमण जान लागेको काँग्रेस महामहामन्त्री डा.महतले जानकारी दिए ।
नयाँ दिल्ली, लखनऊ र वनारसमा हुने छलफलले दुई देशबीचको एक अर्काप्रतिको चासो र चिन्तालाई सम्बोधन गर्न र कुनै समस्या देखिए तत्काल समाधान गर्न पनि सघाउ पुर्याउने उनले बताए । सहमहामन्त्री महतले भने, ‘भारतीय जनता पार्टीको निमन्त्रणमा हामी भारत भ्रमणमा जाँदैछौं ।’
यसअघि आफ्नै निमन्त्रणमा नेपाली कांग्रेस र पार्टीको तर्फबाट भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आएको बताउँदै महतले भने,‘दुई पार्टीबीचको अन्तरक्रिया र भेटघाटले एक अर्कालाई बुझ्ने मौका मिल्ने, दुई पार्टीको दृष्टिकोण बुझ्ने साथै दुई पार्टीबीचको बुझाइको लेबल हुँदा दुई देशबीचको सम्बन्धमा पनि कुनै समस्या आयो भने त्यसलाई समाधान गर्न सजिलो हुने भएकाले भ्रमण हुन लागेको हो ।’
नेपाली कांग्रेस र भारतीय जनता पार्टी दुईटै पार्टी अहिले दुवै देशको सत्ताधारी भएकाले दुई पार्टीबीचको नेतृत्व तहको बीचको बुझाईको स्तर उठाउन र बुझाईको स्तर बढाउन भ्रमण फलदायी हुने उनको बुझाइ छ । दुई पार्टीका प्रतिनिधिहरुबीच दिल्ली, लखनउ र वनारसमा भारतीय जनता पार्टीका उच्च पदस्थ नेताहरु र सरकारमा बसेका उच्च पदस्थ नेतृत्वसँग पनि छलफल गर्ने कार्यक्रम रहेको उनले बताए ।