arrow

राप्रपाले काँग्रेसलाई समर्थन गर्छः ध्रुबबहादुर प्रधान

logo
बाबु नेपाली
प्रकाशित २०७३ साउन ५ बुधबार
pradhan.jpg.jpeg
काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि भएको गठबन्धनसंगै बिहीबारदेखि संसद बैठकमा अविश्वासको प्रस्तावबारे छलफल हुँदैछ । दुई दलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश गरेसंगै नेपाली राजनीतिमा नयाँ तरङ्गसमेत पैदा भएको छ । 
 
तीन दिनसम्म अविश्वास प्रस्तावबारे छलफल चल्ने बताइरहँदा सत्ताधारी दलहरूबीचसमेत विचलन आउने देखिएको छ । सो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालेसमेत मतदान भएका खण्डमा नेपाली काँग्रेसतिर मतदान गर्न सक्ने देखिएको छ । राप्रपाका केन्द्रीय सदस्य धु्र्वबहादुर प्रधानले राप्रपा जहिले पनि प्रजातान्त्रिक धारलाई अगाडि लिएर जाने पार्टी भएकाले पनि काँग्रेस सबैभन्दा नजिक हुने बताउँदै घुमाउरो शैलीमा यसपटक सत्तासमीकरण परिवर्तन हुने बताए । 
 
‘ढिलोचाँडो सत्ता परिवर्तन हुने हो, अविश्वासको प्रस्ताव परेपछि एउटा निक्र्योल त हुने नै हो, सो अवस्थामा हामीले काँग्रेसलाई समर्थन गर्न सक्छौं’, प्रधानले भने ।  यद्यपि प्रधान अहिले नै सरकार परिवर्तनको सन्दर्भ आउनुलाई राम्रो मान्दैनन् । उनी भन्छन् –‘यो समय सान्दर्भिक हैन, बजेट पास भएको छैन, सबै दल मिलेर अगाडि बढ्नु पर्ने बेला हो यो ।’
 
प्रधानलाई सबैभन्दा बढी खड्केको विषय हो संविधान कार्यान्वयन पक्ष । उनले ‘मुलुक अप्ठेरो स्थितिबाट गुज्रिरहेको छ । राजनीति अझ बढी असन्तुलित भइरहेको छ । यो अवस्थामा सबै दल मिलेर अगाडि नबढेसम्म संविधान कार्यान्वयन गर्न कठिन छ’ भने । 
 
अहिले अविश्वासको प्रस्ताव दर्ता हुनुलाई राप्रपा केन्द्रीय सदस्य प्रधान ‘भावावेशमा आएर उठाइएको कदम’ भन्छन् । ‘मुलुकको अवस्थालाई सन्तुलित गर्नुको सट्टा पदलोलुपता बढी भयो’ त्यसले नै यो अवस्था निम्त्यायो । हामी त्यही दलदलमा फसेका छौं’ प्रधानले भने । 
 
राप्रपा यो सरकारबाट सन्तुष्ट भएको अवस्था हो त भन्ने हाम्राकुराको जिज्ञासामा प्रधानले सन्तुष्टका धेरै कुरा नदेखिएको बताए । तर प्रधान असन्तुष्टकाबीच पनि एउटा सरकारले केही समय लिएर काम गर्न पाएन भने उसले के गर्न खोज्दैछ भन्ने थाहा हुँदैन भन्छन् । त्यसका लागि पनि केही अझ ओली सरकारलाई समय दिएको भए हुन्थ्यो भन्छन् । 
 
अब अविश्वासको प्रस्ताव नै आइसकेपछि भने नेपाली काँग्रेस पछाडि हट्न नहुने उनको तर्क छ । देशलाई निकास दिएर जाने हो भने अस्थिरता धेरै लम्ब्याउनु हुँदैन भन्दै केन्द्रीय सदस्य प्रधानले यो समस्यालाई छिटोभन्दा छिटो सल्टाउनु पर्ने बताउँछन् । 
 
पछिल्लो घटनाक्रमलाई हेर्दा भने प्रधान सत्ता परिवर्तनको प्रक्रिया केही समय लम्बिन सक्ने बताउँछन् । सदनको क्रियाकलाप राम्रो नहुँदा पनि समय लाग्ने उनको अड्कल छ । संसदले लामो समय लियो भने मुलुकमा पुनः संकटको स्थिति आउन सक्ने उनको तर्क छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ