arrow

मन्त्री भागबण्डामा नयाँ मापदण्डको बहस : सांसदको सङ्ख्याका आधारमा मन्त्री

जसपा र नेकपा एस असन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
sattarud-gatbandan.jpg

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरुबीच सरकार विस्तारबारे फेरी नयाँ किचलो सुरु भएको छ । पहिले भएको सहमति अनुसार मन्त्रालय भागबण्डा गर्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र मुख्य सहयोगी दल नेकपा माओवादी केन्द्र असहमत भएपछि सत्ता गठबन्धनमा मन्त्रीको भागबण्डालाई लिएर किचलो बढेको हो ।

आइतबार बसेको सत्तारुढ दलको कार्यदलको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सांसद सङ्ख्याको आधारमा मन्त्रालय भागबण्डा गर्ने विषयले प्रवेश पाएको थियो ।

सो विषय कार्यदल बैठकमा उठेपछि नेकपा एकीकृत समाजवादी र जसपाका कार्यदलमा रहेका नेताहरूले पहिले गरिएको सहमति अनुसार नै अघि बढ्नु पर्ने धारणा राखेका थिए ।

जसपाका तर्फबाट कार्यदलमा रहेका नेता महेन्द्रराय यादवले कार्यदलमा मन्त्रीपरिषद्को सङ्ख्यामा केही विषय उठेको तर असहमति भने नभएको बताए ।

‘सङ्ख्याको विषयमा केही बहस त भएको हो, तर विवाद भने छैन, भागबण्डा मिलिसकेको छैन, सहमतिको प्रयास हुँदै छ,’जसपाका तर्फबाट कार्यदलमा रहेका नेता यादवले हाम्राकुरासँग भने ।

पहिलेको सहमति अनुसार कांग्रेसले ७, माओवादी केन्द्र, जसपा र नेकपा एसले ५/५ मन्त्रालय लिने सहमति थियो । तर, अहिले भने जसपा र नेकपा एसलाई दिइने सहमति भएको सङ्ख्यामा कटौती गर्ने विषयमा सत्ता गठबन्धन भित्र बहस सुरु भएको हो । आइतबारको कार्यदलको बैठकमा यस्तो विषय आएपछि कार्यदलमा रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस नेता डा. मिनेन्द्र रिजालले संख्याकाबारे शीर्ष तहले टुङ्गो लगाउने भनेका थिए ।

२९ असारमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सरकार गठन भएको ८४ दिन पुग्दासमेत मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना भइरहेको छ ।

कार्यदलको बैठक आइतबार दुई पटक बसे पनि मन्त्रीपरिषद् विस्तारबारे निर्णय गर्न सत्ता गठबन्धन आबद्ध शीर्ष नेताहरूको बैठक भने अझै बस्न सकेको छैन ।

आज नै शीर्ष नेताहरूको बैठक बसेर मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउने तयारी छ । तर बैठकको अझै टुङ्गो भइसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ