काठमाडौँ महानगरमा धमाधम मतदान हुँदै : ७ नगरपालिकाको नेतृत्वमा कुन समूहबाट को को भए निर्वाचित ?
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
2.2k
Shares
काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत देशभरका वडा अधिवेशन सकिएका जिल्लाहरूमा धमाधम बाँकी अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ । कतिपय जिल्लामा पालिका तहको अधिवेशनसमेत सम्पन्न भएर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन धमाधम जारी छ भने कतिपय जिल्लामा जिल्ला अधिवेशनसमेत सुरु भइसकेको छ ।
सङ्घीय राजधानी काठमाडौँमा भने काठमाडौँ महानगरपालिकाको अधिवेशन अन्तर्गत अहिले मतदान जारी छ ।
काठमाडौँ महानगरमा काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह समूहबाट नीलकाजी शाक्य उम्मेदवार बनेका छन् भने काँग्रेसको संस्थापन समूह र काठमाडौँ काँग्रेसका पूर्व सभापति भीमसेनदास प्रधान समूहबाट प्रगतिमान रञ्जित उम्मेदवार छन् । शाक्यलाई गगन थापाको समेत समर्थन छ ।
काठमाडौँका १० मध्ये ७ नगरपालिकामा भने हिजो शनिवार नै अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी नगरपालिकामा भने केहीमा सहमतिको प्रयास भइरहेको छ । दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएकाले नगर अधिवेशन भएको छैन । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा शनिवार अधिवेशन उद्घाटन भइसकेको छ । तर नेतृत्व चयनको प्रक्रिया अघि बढेको छैन ।
कागेश्वरी-मनहरामा दाहाल
कागेश्वरी-मनहरा नगरपालिकामा उद्धव दाहाल निर्वाचित भएका छन् । उनी काँग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् । उनलाई काठमाडौँ काँग्रेसका पूर्व सभापति रहेका प्रधान समूहले पनि सघाएको थियो । दाहालले १५१ मत ल्याउँदा अर्का प्रत्याशी मिठ्ठाराम दाहालले १३८ मत ल्याए । उनी भने सिंह
समूहसँग नजिक छन् ।
टोखामा विमली
टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण विमली ११७ मत ल्याइ विजयी भएका छन् । उनी काठमाडौँ काँग्रेसका पूर्व सभापति प्रधानसँग नजिक छन् । उनले सिंह समूहसँग निकट रहेका दीपक जोशीलाई पराजित गरेका हुन् । जोशीले १०६ मत पाए ।
बुढानीलकण्ठमा बुढाथोकी
बुढानीलकण्ठ नगरपालिकामा भने राजाराम बुढाथोकी १५५ मत ल्याउँदै निर्वाचित बनेका छन् । उनी नेता गगन थापा निकट हुन् । उनलाई थापा र सिंह मिलेर उठाएका थिए । अर्का प्रत्याशी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाए । सो नगरपालिकामा संस्थापन पक्षले उठाएका उम्मेदवार तेस्रो स्थानमा परे ।
तारकेश्वरमा महर्जन
तारकेश्वर नगर सभापतिमा नेता प्रधान निकट कृष्णहरि महर्जन विजयी भएका छन् । उनले १३५ मत प्राप्त गर्दा सिंह समूहबाट उम्मेदवार बनेका श्रीराम थापाले ११४ मत ल्याइ पराजित भए ।
सो नगरपालिकामा सभापतिका अर्का उम्मेदवार मुकुन्द तिमिल्सिनाले भने दुई मत मात्रै ल्याए ।
शंखरापुरमा श्रेष्ठ
यसै गरी शंखरापुर नगरपालिकाको नेतृत्वमा भने सिंह समूहबाट उम्मेदवार बनेका दिलीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले संस्थापन र प्रधान समूहबाट संयुक्त उम्मेदवार बनेका सत्यमान लामालाई पराजित गरेका हुन् ।
गोकर्णेश्वरमा लामा
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भने कुमार लामा विजयी बनेका छन् । काँग्रेस पूर्व महामन्त्री सिंह निकट लामाले १०९ मत ल्याएर विजयी हुँदा प्रधान समूहबाट उम्मेदवार बनेका रामजी श्रेष्ठले ९३ मत प्राप्त गरे ।
नागार्जुनमा दुर्गाप्रसाद
नागार्जुन नगरपालिकाको नेतृत्वमा दुर्गाप्रसाद गौतम विजयी भएका छन् । उनी पूर्व महामन्त्री सिंह निकट हुन् । उनीसँगै सिंह समूहमा नै रहेका अच्युत पाण्डे मैदानमा उत्रिएका थिए । तर अन्तिममा आफूलाई टिकट नदिएपछि पाण्डेले प्रतिस्पर्धामा जाने निर्णय गरेका थिए ।