एमालेको भन्दा जम्बो एकीकृत समाजवादीको केन्द्रीय कमिटी
केन्द्रीय कमिटी भद्दा बनाएर नेपालले आफ्नै प्रतिवेदनको खिल्ली उडाए
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असोज ७ बिहिबार
577
Shares
फाइल तस्बिर
काठमाडौँ। एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस)ले एमालेको भन्दा जम्बो पार्टी कमिटी बनाएको छ। तत्कालीन एमाले २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा एस पार्टीले भने ३ सय १ को जम्बो केन्द्रीय संरचना बनाएको हो।
तत्कालीन एमाले वा नेकपाको निकट विगतलाई बिर्सिँदै नेकपा (एस)ले निकै ठुलो संरचना बनाएको हो। बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। ठुलो सङ्ख्यामा केन्द्रीय कमिटीदेखि पदाधिकारीसम्म र पोलिट ब्युरो देखि स्थायी कमिटीसम्म गठन गरेर नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई चुस्त दुरुस्त र रहरलाग्दो भन्दा पनि भद्दा बनाएर पदीय लोलुपता रहेको पुष्टि गरेका छन्।
पार्टीले २१ सदस्यीय पदाधिकारी, ३५ सदस्यीय स्थायी कमिटी बनाएको छ। ७१ सदस्यीय पोलिट ब्युरो, ७ सय १ सदस्यीय केन्द्रीय परिषद् गठनको पनि निर्णय लिएको छ। बैठकले प्रदेश इन्चार्जहरू पनि तोकेको छ। यस्तै, केन्द्रीय विभागहरू २५ सदस्यीय, सल्लाहकार समिति १५१ सदस्यीय बनाउने निर्णय गरेको छ। ज्येष्ठ कम्युनिस्ट मञ्च–१५१ सदस्यीय हुने र केन्द्र बाहेक सबै कमिटीमा दुई अध्यक्ष रहने नेकपा एसका प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए।
एमाले विभाजन गरी भदौमा नेपालको नेतृत्वमा नेकपा(एस) दर्ता भएको थियो। दर्तापछि बसेको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकले सङ्गठनात्मक कमिटीको आकार र नेताहरूको जिम्मेवारी तोकेको हो। केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन भएको अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा ‘पद, प्रतिष्ठा, निजी स्वार्थमा तल्लीन र परमुखापेक्षी होइन निःस्वार्थी, आत्मनिर्भर, जनसेवी, लोकतन्त्र र समाजवादप्रति समर्पित कार्यकर्ता पङ्क्ति तयार गरिने’ उल्लेख छ।
तर कमिटी भने जम्बो र भद्दा बनाएर प्रतिवेदनकै खिल्ली उडाइएको छ। एमालेबाट करिब २० प्रतिशत केन्द्रीय सदस्य र २० प्रतिशत सांसद लिएर बाहिरिएका नेपालले आफ्नै किचन क्याबिनेटमा रहेका बेदुराम भूषाललाई पार्टीको महासचिव बनाएका छन्। भूषाल ‘मास अपिल’ गर्न सक्ने नेता होइनन् उनी सिद्धान्तको व्याख्याता मात्रै हुन्। महासचिव ‘मास अपिल’ गर्न सक्ने नेता हुनुपर्नेमा भूषाललाई महासचिव बनाएकोमा अन्य नेताहरू असन्तुष्ट रहेका छन्।
जम्बो संरचना बनाएको नेकपा एसले कम्युनिस्ट पार्टीको पुनर्गठन र रूपान्तरणलाई आफ्नो साङ्गठनिक कार्यभार बनाएको छ। निकट भविष्यमै पार्टीको राष्ट्रिय सम्मेलन गरेर त्यस कार्यलाई अगाडि बढाइने तथा अहिले चालू रहेको पार्टी कमिटीहरूको गठन तथा पुनर्गठन कार्यलाई केही समयसम्म अभियानकै रूपमा चलाउने उसको योजना बनाएको छ।
सुरुमा एस पार्टीको केन्द्रीय कमिटीतर्फ व्यङ्ग्य गर्दै ओलीले पद सबैलाई बाँडफाँड गरेछन् भने ‘फुटेको होइन चोइटिएको चाहिँ एकीकृत। पदाधिकारी पार्टी भएछ। सात जनालाई उपाध्यक्ष चाहिएछ। मान्छे खोजेर केन्द्रीय निकाय र विभागमा राख्ने रे,’ ओलीले भने। एमालेमा विधान हाललाई ५ जना मात्रै उपाध्यक्ष रहने व्यवस्था गरिएको छ।
सचिव चाहिँ ७ जनाको व्यवस्था गरिएको छ। तर एस पार्टीले उपाध्यक्ष नै सात जना बनाएको छ। सुरुमा राजेन्द्र राई र नगेन्द्र चौधरीलाई सचिवको राखिएको थिएन। राईले विद्रोह गर्ने पार्टी नै छाड्ने चेतावनी दिएपछि राई र चौधरीलाई समेटिएको हो।