पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न माधव नेपालको आग्रह
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
717
Shares
कास्की । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न कार्यकर्तालाई आग्रह गरेका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा नेता नेपालले यस्तो बताइका हस् ।
नेपालले भने, “असली कम्युनिस्ट पार्टी हामी हौँ, अरूले कम्युनिस्ट पार्टीको मर्ममा चोट पुर्याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे । हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो ।”
प्रचार गरिएजस्तो माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताउँदै अध्यक्ष नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिका आधारमा अघि बढ्ने उल्लेख गरे। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायतका परिवर्तनका उपलब्धिहरूको रक्षा गर्नु आवश्यक रहेको नेता नेपालले बताए ।
यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताए । उनले पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री पठाइने जानकारी दिए । अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखिनेसमेत बताए । उनले भने, “विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन । अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहोर्याउनु हुँदैन । गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ ।”
प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्चको फैसला ऐतिहासिक र नेपालको इतिहासमा संविधानवादको कोसेढुङ्गाका रूपमा दर्ज हुने उल्लेख गर्दै उनले सर्वोच्चले संविधानको सही व्याख्या गरेको बताए । “संविधान मिच्ने छैनौँ, यसको पालना गर्नेछौँ तथा संविधानको मूल्य र मान्यताको रक्षा गर्दै यसको मर्म र भावनाको सही प्रयोग हाम्रो पार्टीले गर्नेछ”, अध्यक्ष नेपालले स्पष्ट पारे ।