बागमती प्रदेशमा माधव नेपालको दलमा आए एमालेका १२ प्रदेश सांसद (को को हुन् ?)
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
1.6k
Shares
काठमाडौँ । बागमती प्रदेशसभामा गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका १२ प्रदेश सभा सदस्य माधव नेपाल नेतृत्वको दल नेकपा एकिकृत समाजवादीमा खुलेका छन् ।
निर्वाचन आयोगले दल परिवर्तनका लागि दिएको समयलाई सदुपयोग गर्दै एमालेका १२ प्रदेश सभा सदस्यले नेकपा एसमा रोज्न प्रदेश निर्वाचन कार्यालयमा आआफ्नो सनाखत गराएका हुन् ।
मङ्गलवार हेटौँडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरूले आफू नेकपा एसमा आबद्ध हुन चाहेको उल्लेख गरेका हुन् । यसरी नेकपा एस दल रोज्न चाहनेमा बागमती प्रदेश सभाका प्रदेश सभा सदस्यहरू राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईँ, रमा आले मगर, वसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनाल रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौडाले जनाएको छ ।
बागमती प्रदेशमा नेकपा माओवादी २३, काँग्रेस २२ नेकपा (एकीकृत समाजवादी) १२, नेकपा एमाले ४४, नेमकिपा २, राप्रपा २ विवेकशील साझा ३ स्वतन्त्र १ प्रदेश सभा सदस्य छन् । नेकपा एकीकृत समाजवादी र एमालेको सांसदको सङ्ख्या भने निर्वाचन आयोगले दल परिवर्तन गर्न दिएको समय २२ भदौसम्म अझै थपघट हुन सक्छ ।