arrow

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देउवा : भागबण्डा टुङ्गियो

केही मन्त्रीको जिम्मेवारी फेरिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । प्रधानमन्त्री देउवाले सरकारमा मन्त्री थप्ने विषयमा सहयोगी दलहरूसँग छलफल टुङ्गाइसकेका छन् । 

बालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनमा आबद्ध दलहरूबिच मन्त्रालयको सङ्ख्याको भागबण्डा टुङ्गिएको हो । प्रधानमन्त्री देउवाले अब ती दलबाट मन्त्रीको नाम आएपछि १४ भदौमा सरकार विस्तार गर्ने तयारी गरेका हुन् । 

सरकारमा सहभागी हुने विषयमा काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बिच मन्त्रालयको बाँडफाँडमा सहमति भएको हो । 

हाल काँग्रेसबाट प्रधानमन्त्रीसहित दुई फुलमन्त्री र एक राज्यमन्त्री गरी चार जना सरकारमा छन् । यस्तै माओवादी केन्द्रबाट सरकारमा दुईमन्त्री छन् । 

उच्च स्रोतका अनुसार अब काँग्रेसले तीन मन्त्रालय पाउने छ । यो सहित काँग्रेसको भागमा छ फुलमन्त्री र एक राज्यमन्त्री रहनेछन् । 

यस्तै माओवादी केन्द्रले अब तीन फुलमन्त्रीसहित एक राज्यमन्त्री गरी चार, माधव नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) ले एक राज्यमन्त्रीसहित ६, उपेन्द्र यादव नेतृत्वको दल जसपाले पनि एक राज्यमन्त्रीसहित छ मन्त्रालय लिने गरी सहमति गरिएको छ । 

एमालेबाट औपचारिक रूपमा विभाजित भएपछि माधव नेपाल समूहलाई सरकारमा जान बाटो खुलेको हो । निर्वाचन आयोगले राजनीतिक दल विभाजन सम्बन्धी नयाँ अध्यादेश अनुसार माधव नेपालको दललाई बुधवार नै दर्ता गर्दै प्रमाणपत्र प्रदान गरिसकेको छ । 

उच्च स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुने सम्भावना छ । यसरी जिम्मेवारी फेर्दा कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्री बनाउने प्रधानमन्त्री देउवाको आन्तरिक तयारी छ । 

यस्तै स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई पनि सोही मन्त्रालयमा फुलमन्त्री बनाउने देउवाको तयारी रहेको बताइन्छ । कानुन मन्त्रालय भने काँग्रेसकै भागमा हुनेछ । 

२९ असारमा प्रधानमन्त्री बनेका देउवाले आफ्नै दल काँग्रेस र माओवादीबाट दुई-दुईमन्त्री नियुक्त गरेका थिए । त्यसपछि उनले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई १० साउनमा ल्याएका थिए । देशमा कोरोना महामारी कायम रहँदा पनि स्वास्थ्यमन्त्री नबनाएको भन्दै सरकारको आलोचना भएपछि देउवाले श्रेष्ठलाई राज्यमन्त्रीको जिम्मेवारीसहित सरकारमा भित्राएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ